इलाका प्रहरी कार्यालयलाई ३० वटा, उपत्यका प्रहरीका लागि ३० र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा २ पाङ्ग्रे सवारीसाधन दिने निर्णय भएको हो ।
हेटौंडा — जेन-जीको आन्दोलनका क्रममा प्रदर्शनकारीले सवारीसाधनमा क्षति पुर्याएका प्रहरी कार्यालयमा बागमती प्रदेश सरकारले मोटरसाइकल उपलब्ध गराउने भएको छ ।
सरकारले करिब ३ करोड रुपैयाँको ८५ वटा मोटरसाइकल दिने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
चाडपर्वको समयमा सुरक्षा चुनौतीको संवेदनशीलतालाई ध्यानमा राखेर मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको उनले बताए । उनका अनुसार बागमती प्रदेशका इलाका प्रहरी कार्यालयहरुका लागि ३० वटा, उपत्यका प्रहरीका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा गरी ८५ वटा २ पाङ्ग्रे सवारीसाधन दिने निर्णय गरेको हो ।
आर्थिक मामिला मन्त्रालयले शुक्रबार मोटरसाइकल खरिदका लागि सहमति दिइसकेको छ । प्रदेशको सवारीसाधन खरिद मापदण्डभित्र रहेर मोटरसाइकल उपलब्ध गराउन लागिएको मन्त्री तामाङले बताए । बागमती प्रदेश सरकारले प्रहरी संगठन संघीय सरकार मातहत भएपछि प्रहरी संगठन मजबुत बनाउनका लागि भौतिक पूर्वाधार निर्माण गर्नुका साथै सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।
