काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, पस्थलीका २२/२३ वर्षका नवराज खुलाल बेपत्ता छन्
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५, बलेफीस्थित अरनिको राजमार्गबाट एक भ्यान भोटेकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार शुक्रबार बिहान चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलन गर्ने बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान सुकुटेबाट खाडिचौरतर्फ जाँदै गर्दा सडकबाट खसेको हो । भ्यान करिब ५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।
भ्यान काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, पस्थलीका २२/२३ वर्षका नवराज खुलालले चलाइरहेका थिए। दुर्घटनाको बेला गाडीमा चालक मात्रै सवार रहेको बुझिएको छ। 'चालक बेपत्ता छन् ,उनको खोजी भइरहेको छ,'जिल्ला प्रहरी नायब उपरीक्षक माधवराज खरेलले भने ।
घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको नेतृत्वमा चार जनाको टोली खटिएको र बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
