चट्याङले सिंगटी–बाह्रबिसे प्रसारण लाइनको टावरमा क्षति, ८९ मेगावाट विद्युत् अवरुद्ध

बुधबार दिउँसो हावाहुरीसहित परेको चट्याङले सिंगटी–बाह्रबिसे १३२ केभी प्रसारण लाइनको ३२ नम्बर टावरमा क्षति पुर्‍याएपछि पाँच वटा जलविद्युत् आयोजनाको ८९ मेगावाट विद्युत् अवरुद्ध बनेको छ ।

आश्विन ९, २०८२

केदार शिवाकोटी

Lightning damaged the tower of Singti-Baharbise transmission line, 89 megawatts of electricity was interrupted

दोलखा — चट्याङले सिंगटी–बाह्रबिसे प्रसारण लाइनमा क्षति गरेपछि दोलखामा उत्पादित जलविद्युत् आयोजनाको ८९ मेगावाट विद्युत् खेर गएको छ। बुधबार दिउँसो हावाहुरीसहित परेको चट्याङले सिंगटी–बाह्रबिसे १३२ केभी प्रसारण लाइनको ३२ नम्बर टावरमा क्षति पुर्‍याएपछि पाँच वटा जलविद्युत् आयोजनाको ८९ मेगावाट विद्युत् अवरुद्ध बनेको खिम्ती ग्रीड शाखाका प्रमुख मनोज साहले बताए।

खिम्ती ग्रीड शाखाले रामेछाप, दोलखा र सिन्धुपाल्चोकका ६ वटा सबस्टेशनको व्यवस्थापन गर्दै आएको छ। उनका अनुसार चट्याङका कारण दोलखाको कालिन्चोक गाउँपालिका–७ मा रहेको ३२ नम्बर टावरको प्रसारण लाइनको तार चुँडिएको छ। तार चुँडिएसँगै निजी क्षेत्रबाट बनेका पाँच वटा जलविद्युत् केन्द्रको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाउन सकिएको छैन।

‘चट्याङले दोलखामा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको मुख्य सिंगटी–बाह्रबिसे प्रसारण लाइनको एक टावरमा क्षति गरेको छ,’ उनले भने, ‘क्षति भएको टावरलाई वैकल्पिक उपायबाट भए पनि सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।’

क्षति भएको टावर र तारको अवस्था निरीक्षण गर्न तथा मर्मतका लागि टोली परिचालन भइसकेको साहले बताए। उनका अनुसार सम्भव भए बिहीबार साँझसम्म वैकल्पिक रूपमा मर्मत गरी तत्कालका लागि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाउने तयारी भइरहेको छ।

दोलखाको उत्तरी क्षेत्रमा निजी क्षेत्रबाट बनेका जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् सिंगटी सबस्टेशनबाट १३२ केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेशनमा पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरेको छ। हाल सिंगल सर्किटमा सञ्चालन भइरहेको यो प्रसारण लाइनलाई दसैँपछि डबल सर्किटमा सञ्चालनमा ल्याउने तयारी थालिएको साहले जानकारी दिए।

बुधबार दिउँसो परेको चट्याङले जिल्लाभरका अन्य ट्रान्सफर्मरमा क्षति गर्दा दोलखाका केही क्षेत्रमा विद्युत् अवरुद्ध बनेको छ। क्षति भएको क्षेत्रमा ट्रान्सफर्मर प्रतिस्थापन भइरहेको र विद्युत् सेवा नियमित हुन नसकेको विद्युत् प्राधिकरण दोलखा केन्द्रले जनाएको छ।

केदार

Link copied successfully