भवन जलेपछि बाग्मती प्रदेशसभा बैठक अन्योलमा

भवन प्रयोगमा ल्याउन नसकिने भएकाले सभा परिसरको ग्यारेजलाई अस्थायी बैठकस्थल बनाउन लागिएको छ । 

आश्विन ८, २०८२

प्रताप विष्ट

Bagmati Provincial Assembly meeting in confusion after the building burned down

हेटौंडा — २४ भदौमा प्रदर्शनकारीबाट तोडफोड र आगजनीले प्रदेश सभा भवन जलेपछि बाग्मती प्रदेशसभाको बैठक बस्न अन्यौल भएको छ । प्रदर्शनकारीले प्रदेशसभा सचिवालयको पुरानो र नवर्निर्मित दुवै भवनमा पूर्ण क्षति पुर्‍याएपछि तत्काल बैठक डाक्न सक्ने अवस्था नरहेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

एक महिनाअघि मात्रै उद्घाटन गरिएको प्रदेशसभा भवन आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पुरानो भवन पनि आगजनीका कारण जीर्ण अवस्थामा छ । प्राविधिक टोलीले पुरानो भवन प्रयोग गर्न नमिल्ने सुझाव दिएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बताए । ‘पुरानो भवनमा अहिले प्रवेश नगर्न भनिएको छ, अब पुनः परीक्षणपछि मात्रै प्रयोगबारे निर्णय हुन्छ,’ उनले भने  । 

प्रदर्शनका क्रममा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये कांग्रेस र माओवादीबाहेक एमाले, एकीकृत समाजवादी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका संसदीय दलका कार्यालयमा पनि आगजनी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Bagmati Provincial Assembly meeting in confusion after the building burned downकांग्रेस र माओवादीका कार्यालयमा तोडफोड मात्रै भएको छ । प्रदेशसभाका सचिव दर्जीका अनुसार सचिवालय र दलका कार्यालयका सबै अभिलेख र कागजात जलेर नष्ट भएका छन् । प्रदेशसभा भवन र कार्यालयमा गरिएको आगजनीबाट पाँच वटा भवन, तीन वटा चारपांग्रे गाडी, ६ मोटरसाइकल, बैठक कक्ष, ढोका–झ्याललगायतका संरचना पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । प्रारम्भिक अनुमानअनुसार करिब ३३ करोड रुपैयाँ बराबरको क्षति भएको सचिवालयले जनाएको छ ।

दसैंअघि बैठक राख्ने तयारी भए पनि तोडफोड र आगजनीका कारण सम्भव नभएको सचिवालयका अर्का सचिव रामकुमार पौडेलले बताए । उनका अनुसार कोजाग्रत पूर्णिमापछि मात्र बैठक बोलाउने तयारी भइरहेको छ । उनका अनुसार तत्कालीन सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत गर्न र नयाँ सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन बैठक अनिवार्य डाक्नुपर्ने बाध्यता छ ।

Bagmati Provincial Assembly meeting in confusion after the building burned downसभामुख पाठकले १ असोजमा उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएका थिए । ‘भवन प्रयोगमा ल्याउन नसकिने भएकाले सभा परिसरको ग्यारेजलाई अस्थायी बैठकस्थल बनाउन लागिएको छ,’ सचिव पौडेलले भने, ‘त्रिपाल टाँगेर भए पनि बैठक सञ्चालन गर्नुपर्ने हुन्छ ।’ हाल प्रदेश सभा सचिवालयको प्रशासनिक कामकाज कांग्रेस र माओवादी संसदीय दल कार्यालय रहेको स्थानबाट सञ्चालन गरिएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully