नमोबुद्धका पूर्वनगरप्रमुख टीपी शर्माको निधन

एमालेबाट २०७४ सालको स्थानीय निर्वाचनमा नमोबुद्ध नगरप्रमुख निर्वाचित तिमल्सिना पूर्वपत्रकार एवं साहित्यकारसमेत हुन् ।

आश्विन ७, २०८२

ज्योती श्रेष्ठ

TP Sharma, former mayor of Namobuddha, passed away

काभ्रे — नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टीपी शर्मा तिमल्सिनाको निधन भएको छ । उपचारका क्रममा धुलिखेल अस्पतालमा आज बिहान ४ बजे शर्माको निधन भएको हो ।

उनी गत साउन १० गते बीपी राजमार्गअन्तर्गत नमोबुद्ध–२ को बीसमा दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका तिमल्सिनाको साउन १० गते नै आकस्मिक रूपमा शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि उनको पूर्ण रूपमा होस खुल्न सकेको थिएन भने यसबीचमा थप शल्यक्रिया पनि गरिएको थियो ।

दुईवटा स्कुटर ठोक्किँदा शर्मा र उनका छोरा किशोर तिमल्सिना तथा अर्को स्कुटर चालक घाइते भएका थिए । नेकपा एमालेबाट २०७४ सालको स्थानीय निर्वाचनमा नमोबुद्ध नगरप्रमुख निर्वाचित तिमल्सिना पूर्वपत्रकार एवं साहित्यकारसमेत हुन् । उनको खाल्डोभित्र नअटेको मान्छे नामक कृति प्रकाशनको क्रममा रहेको छ भने दर्जनौं कविता प्रकाशित छन् ।

शर्माले युवा पत्रकारहरूलाई प्रोत्साहित गर्न नेपाल पत्रकार महासंघ काभ्रेसँगको सहकार्यमा टीपी शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार र प्रेस चौतारी काभ्रेसँगको सहकार्यमा टीपी शर्मा युवा पत्रकारिता पुरस्कारसमेत स्थापना गरेका थिए । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully