महालेखाको सर्भर नचल्दा शिक्षक, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, विकास र अन्य कामको भुक्तानी हुन नसकेको स्थानीय तहहरुले बताएका छन् ।
सिन्धुली — महालेखाको भुक्तानी प्रणालीको 'सर्भर डाउन' हुँदा सिन्धुलीका स्थानीय तहहरुको तलब, सामाजिक सुरक्षा, विकास खर्च लगायतका काममा अवरोध भएको छ ।
महालेखाको सफ्टवेयर भुक्तानी प्रणालीको गति कम हुने र आउने जाने भइरहँदा समस्या भएको स्थानीय तहहरुले जनाएका छन् । कार्यालय समयमा सफ्टवेयर नचल्ने भएकाले बिहान, बेलुका चलाउँदा समेत आउनेजाने भइरहेकाले भुक्तानीमा समस्या भएको हो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली महालेखाबाटै हुने भएकाले केन्द्रले नै छिटोछरितो बनाउनुपर्ने स्थानीय तहका लेखाफाँटले जनाएका छन् ।
२२ करोड हाराहारीमा भुक्तानी गर्नुपर्नेमा महालेखाको सर्भर नचल्दा शिक्षक, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, विकास र अन्य कामको भुक्तानी हुन नसकेको कमलामाई नगरपालिकाका लेखा अधिकृत टेकेन्द्रकुमार कार्कीले बताए । 'नवरात्रिको दोस्रो दिन भइसक्यो, कसैको भुक्तानी गर्न सकिएको छैन,' उनले भने, ‘जलेको कार्यालयमा जसोतसो नेट चलाएर २४ घण्टा खट्दा पनि सफ्टवेयरमा समस्या देखाउने गर्छ ।’
कमलामाईमा मात्र शिक्षक तलब निकासा ११ करोड ४२ लाख, सामाजिक सुरक्षा भत्ता ८ करोड ७० लाख, अन्य रकम भुक्तानी गर्नुपर्ने कार्यालयले जनाएको छ । 'तलब र सामाजिक सुरक्षा मात्र भुक्तानी गर्न सके मात्र पनि हुने भनेर लागिएको छ तर उपाय लाग्ला जस्तो छैन,' अधिकृत कार्कीले बताए ।
तलब सिट सबै ठिक्क पारे पनि प्राविधिक समस्याले वितरण हुन नसकेको गोलन्जोर गाउँपालिकाका प्रधानाध्यापक लेखबहादुर बस्नेतले बताए । ' पालिकाले विद्यालयको खातामा रकम हालिदिनेबित्तिकै शिक्षक, कर्मचारीको खातामा पैसा पठाइहाल्ने थियौं,' उनले भने ।
दुधौली नगरपालिका, तीनपाटन, सुनकोशी, मरिण, हरिहरपुरगढी, फिक्कल र घ्याङलेख गाउँपालिकाको हालत पनि उस्तै छ । सामाजिक सुरक्षा भत्ता लिन वृद्धवृद्धा दैनिकजसो बैंक धाएर रित्तोहात फर्कने गरेका छन् । जेन-जी आन्दोलनमा कमलामाई नगरपालिका कार्यालय जलाइएको थियो ।
