तुइनखोलाको पहिरो पन्छाउने काम स्थगित, पश्चिम हिँडेका सवारीलाई पोखरा हुँदै जान आग्रह

सुरुमा करिब ७० मिटर माथिबाट निरन्तर ढुंगा झरिरहेको र शनिबार बिहान पौने आठमा पुनः ठुलो पहिरो खसेर समस्या भएको सडक विभागले जनाएको छ ।

आश्विन ४, २०८२

विमल खतिवडा

Tuinkhola landslide removal work postponed, westbound vehicles asked to pass through Pokhara

काठमाडौँ — नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोला पुल नजिकै खसेको पहिरो पन्छाउन सकस भएको छ । शुक्रबार साँझ साढे ६ बजेदेखि निरन्तर पहिरो झरिरहेका कारण पन्छाउन समस्या भएको हो । 

सुरुमा करिब ७० मिटर माथिबाट निरन्तर ढुंगा झरिरहेको र शनिबार बिहान पौने आठमा पुनः ठुलो पहिरो खसेर समस्या भएको सडक विभागले जनाएको छ । करिब १६० मिटर लम्बाई , १०मिटर चौडाई र १६ मिटर उचाइमा पहिरो रहेको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताए । उनका अनुसार शनिबार दिनभर बाटो खोल्ने प्रयास भए पनि पुन: दुवै साइडबाट ठुलो ढुंगा र पहिरो झरी एक्स्काभेटरमा लाग्ने जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोधलाई ध्यानमा राखी आइतबार बिहान ३ बजेसम्मलाई बाटो खोल्ने कार्य स्थगित भएको गरिएको छ । 

सडक डिभिजन भरतपुरको टोली पहिरो गएको स्थानमा रहेको र स्थिति सामान्य हुनसाथ तत्काल बाटो खोल्ने कार्य सुरु गरिने उनले बताए । इलाका प्रहरी कार्यालय मुग्लिनले तुइनखोलामा पहिरोको जोखिम रहेकाले काठमाडौंबाट पश्चिम जाने सवारी र यात्रुलाई पोखरा हुँदै जान आग्रह गरेको छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully