बाटोमा अलपत्र यात्रुलाई खाजा बाँड्दै प्रमुख जिल्ला अधिकारी
चितवन — नारायणगढ-मुग्लिन सडकअन्तर्गत तुइनखोलामा खसेको पहिरो हटाउन अझै समय लाग्ने भएको छ । तुइनखोलामा शुक्रबार साँझदेखि नै पहिरो खसेर बाटो अवरूद्ध भएको थियो ।
शनिबार बिहान झनै ठूलो पहिरो खसेपछि बाटो ठप्प छ । लगभग २४ घण्टादेखि यात्रुहरू बाटोमा नै अलपत्र छन् । बाटोमा अलपत्र यात्रुलाई चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरू सम्मिलित टोलीले खाजा वितरण गरेको छ । नारायणगढका व्यवसायी चन्दन अग्रवालले खाजा सहयोग गरेका छन् ।
करिब दुई हजार यात्रुलाई खाजा वितरण गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । सडकमा तुइनखोलादेखि लोथरसम्म गाडी रोकिएका छन् । सडकमा करिब साढे ११ हजार गाडी रोकिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी जिरीक्षक गायत्रीराज शर्माले बताए । उनका अनुसार आज सात बजेसम्म मात्रै पहिरो सफा गर्ने र बाँकी काम भोलि बिहानमा सुरू हुने छ ।
