तुइन खोलामा लगातार पहिरो, ढुंगा खसेर दुर्घटनाको जोखिम

पहिर‍ोमा आएको ढुंगाले लागेर एउटा यात्रु बसमा सामान्य क्षति भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आश्विन ३, २०८२

रमेशकुमार पौडेल

Risk of accidents due to continuous landslides, rockfalls in Tuin river

चितवन — नारायणगढ-मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलामा हप्ता दिनयता दिन-दिनै पहिरो खसेर बाटो थुनिने गरेको छ । ठूलो पहिरो नआए पनि माथिबाट सडकमा खस्ने ढुंगाले झनै जोखिम बढाएको छ ।

बिहीबार राति खसेको पहिरोले शुक्रबार बिहानसम्म बाटो एकतर्फी मात्रै सञ्चालनमा छ । पहिर‍ोमा आएको ढुंगाले लागेर एउटा यात्रु बसमा सामान्य क्षति भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालले बिहिबार राति १० बजेर ५५ मिनेट जाँदा तुइन खोलामा पहिरो खसेको जानकारी दिए । प्रहरी र यात्रुले नै ढुंगा हटाएर एक घण्टापछि एक तर्फी बाटो खुलाएको उनले बताए ।

शुक्रबार बिहानै सडक कार्यालयले दुई तर्फी नै बाटो खुलाउन पहिरो सफा गर्न सुरू गरेको थियो ।  बिहान सवा सात बजेबाट बल्ल सडक दुई तर्फी  भयो । रातको समयका त्यस ठाउँमा काम गर्न जोखिम रहेको सडक कार्यालयका अधिकारीहरूले बताउँदै आएका छन् ।

बिहिबार रााति सो ठाउँमा काठमाडौंबाट नारायणगढ तर्फ आइरहेको ना ६ ख १५२२ नम्बरको यात्रु बसको अगाडीको शिसामा ढुंगाले लागेको थियो । शिसा फुटे पनि अन्य कुनै खाले क्षति नभएको र बस आफ्नो गन्तव तर्फ लागेको डिएसपी खनालले बताए । यस्ता घटनाले सो सडक हुँदै गरिने यात्रा जोखिमयुक्त बनेको देखाउँ छ ।

भरतपुरको डिभिजन सडक कार्यालयले यात्रा गर्दा सचेत र सजग रहन अपिल गर्दै आएको छ । खास गरेर पानी परेको समयमा पहिरो आउने गरेको छ । डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले भदौ २६ गते बिहिबारदेखि दिन दिनै जसो पहिरो खस्ने गरेको बताए ।

"ठूलो पहिरो पनि आउँदैन । तर ढुंगासहित खस्छ । रातमा खसे काम गर्न जोखिम हुन्छ । पहिरोका कारणले बाटो दुई तर्फी नै त्यस्ताे लामो समय बन्द भएको छैन । बढीमा  लगातार दुई घण्टासम्म दुई तर्फी बन्द भयो होला । सेप्टेम्बर ११ गतेयता पहिरो भने दिन दिनै खसेको छ," इन्जिनियर घिमिरेले भने ।

पहिरो सफा गर्न मेशिनहरू तयारी अवस्थामा राखेको उनले बताए । दुईवटा लोडर र ठूलो पहिरो आए हटाउनका लागि भनेर एउटा एक्साभेटर त्यही क्षेत्रमा राखेको उनले बताए । नारायणगढ मुग्लिन सडकलाई दुई लेनको फराकिलो सडक बनाउन १० वर्षअघि ठाउँ ठाउँमा पहाड काट्नु परेको थियो ।

सडक विस्तारको काम सकिए पनि पहाड काटेको ठनउँमा पहिरोको पिरलो सुरू भएको थियो । जुन समस्या अहिले केही साम्य भएको छ । तर सडक बराबरका फराकिला पुल बनाउन फेरि पहाडको भित्तो काटेको ठाउँमा पनि पहिरो झरेर दुख दिइरहेको छ ।

मुग्लिन बजारदेखि साढे दुई किलो मिटर पर नारायणगढ तर्फ रहेको तुइन खोलामा पनि पुल बनाउँदा पहाड ताछेपछि विगत तीन वर्षयता हरेक बर्खायाममा पहिरो खसेर पटक पटक बाटो बन्द हुने गरेको छ । सडकमाथिकाे पहाडी थुम्कामा बाट‍मा खस्ने जोखिम भएका साना ठुला ढुङ्गा र गेग्रानका खात लागेको छ । सडक डिभिजनले गएको असार १२ गते दिउँसो सडक बन्द गरेर नै  त्यस्ता ढुङ्गा र गेग्रान सफा गरेको थियो । तर सवै सफा गर्न गाह्रो भएको थियो । 

संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भेगसँग जोड्ने महत्वपुर्ण मार्ग भएका कारणले यो सडक हुँदै दिनहुँ १० हजारभन्दा बढी साना ठुला गाडी र प्रशस्त मालवाहक ट्रक गुड्ने गर्दछन । बर्खायाममा पहिरोले सडक थुनिँदा हजारौं यात्रुहरूले सास्ती पाउँदै आएका छन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully