स्थानीयको असहमति र आक्रोशका कारण भोटेकोसी जलविद्युत आयोजनामा तनाव उत्पन्न भएको छ।
सिन्धुपाल्चोक — माथिल्लो भोटेकोसी जलविद्युतले स्थानीयलाई वितरण गर्नुपर्ने भनिएको सेयरको विवाद चर्किँदै गएपछि आन्दोलित स्थानीयहरूले भोटेकोसी गाउँपालिका कार्यालयमा बिहीबार तोडफोड गरेका छन् । इलाका प्रहरी बाह्रबिसेका अनुसार केहीले टायरमा आगो बालेर गाउँपालिकामा आगजनी प्रयाससमेत गरेका थिए ।
'आगजनी तत्काल रोकिएको छ, भिड तत्काल नियन्त्रणमा लगिरहेका छौँ, स्थिति बल्ल शान्त भएको छ,' घटनास्थलमा खटिएका इप्रका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले भने ।
यसअघि जेन-जी आन्दोलनको क्रममा स्थानीयले १० दिनदेखि पावर हाउस बन्द गरेर विद्युत् उत्पादन रोकेका थिए । उत्पादन सुचारु गराउन कम्पनीले हालै गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पासहित जनप्रतिनिधिसँग मात्र छलफल गरेको जानकारी पाएपछि आन्दोलित स्थानीय आक्रोशित भएका हुन् ।
स्थानीयको असहमतिकाबीच कम्पनी र जनप्रतिनिधिबीच भएको बैठकप्रति आपत्ति जनाउँदै उनीहरू पालिका भवनमा जम्मा भएका थिए । विवाद तीव्र बन्दा ढुंगामुढा तथा तोडफोड भएको प्रहरीले जनाएको छ । आक्रोश बढ्दै जाँदा जनप्रतिनिधि र कम्पनीका अधिकारीहरू बैठक स्थल छाडेर भागेका थिए । घटनामा दुई जना सामान्य घाइते भएका छन् ।
४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाबाट करिब दुई दशकअघि विद्युत् उत्पादन सुरु भए पनि स्थानीयलाई वचनबमोजिम सेयर वितरण नभएको भन्दै पटक–पटक विवाद हुँदै आएको छ । यही विषयलाई लिएर भोटेकोसी क्षेत्रमा निरन्तर तनाव भइरहने गरेको छ ।
