जेन-जीको अगुवाईमा भएको आन्दोलनमा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली दिन बुधबार साँझ नारायणगढमा दीप प्रज्वलन गरिएको हो ।
चितवन — जेन-जी आन्दोलनमा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली दिन बुधबार साँझ नारायणगढमा विभिन्न संघ संस्थाहरूले दीप प्रज्वलन गरेका छन् ।
लायन्स चोकमा चितवनका विभिन्न लायन्स र लियो क्लबले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए ।
नजिकै हिमालयन राइडर्सले पनि सोही समयमा दीप प्रज्वलन गरेर सहिदहरूलाई श्रद्धाञ्जली प्रकट गरेको थियो ।
जेन-जी प्रदर्शनका क्रममा सुरुकै दिन भदौ २३ गते दिउँसो नारायणगढको लायन्सचोक, सहिदचोक र पुलचोक क्षेत्रमा पनि प्रदर्शन भएको थियो । ती क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेका थिए । भदौ २४ गते भरतपुर क्षेत्रमा प्रदर्शनकारीहरूले सरकारी कार्यालयहरू, प्रहरी युनिट र पार्टीका कार्यालय तथा पालिका र वडा कार्यालयहरूमा आगजनी गरेका थिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार दुई दिनको प्रदर्शनका क्रममा १४ प्रदर्शनकारी र १२ जना सुरक्षाकर्मी घाइते भए । रबरका गोली र हवाई फायर दुई सय राउन्ड र ३५० सेल अश्रुग्यास प्रहार भएको थियो ।
भदौ २४ गते भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीको भरतपुर-२१ पार्वतीपुरको घरमा प्रदर्शनकारीले गरेको आगजनीमा ग्यास सिलिन्डर पड्कँदा त्यसका टुक्राले लागेर घाइते भएका एक जना स्थानीय युवा १९ वर्षका सरोज गुरुङको उपचारका क्रममा भदौ २७ गते निधन भएको थियो । आगजनी भएको रत्ननगर नगरपालिकाको कार्यालय भवनभित्र एक जना पुरुषको शव फेला परे पनि यस बारेमा प्रशासनले आधिकारिक टिप्पणी गरेको छैन ।
