१२ वटा प्लाष्टिकको पोकामा प्याक गरेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
हेटौंडा — मकवानपुर प्रहरीले त्रिभुवन राजपथ अन्तर्गत पर्ने भैँसेबाट गाँजासहित चालकलाई पक्राउ गरेको छ ।
त्रिभुवन राजपथ हुँदै पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा २ ख ३२१९ नं. को भाडाको कन्टेनरलाई भीमफेदी गाउँपालिका–२ भैँसे चेकपोष्टका प्रहरीले रोकेर चेकजाँच गर्दा कन्टेनरबाट १५७ किलो १२० ग्राम गाँजा बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैँसेबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान कन्टेनर रोकेर खानतलासी गर्दा १२ वटा प्लाष्टिकको पोकामा प्याक गरेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
कन्टेनर गाडीको पछाडीको डिब्बा भित्र गाँजा लुकाएर ल्याइएको थियो । प्रहरीले गाँजासहित कन्टेनर चालक सिन्धुपाल्चोक बाह्रबिशे नगरपालिका–८ का ४१ वर्षीय वीर बहादुर तामाङलाई नियन्त्रणमा लिएका छन् ।
नियन्त्रणमा लिएको तामाङलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
