भरतपुर कारागारमा फर्किए ४४६ कैदी बन्दी, गैंडा मुद्दाका ४८ मध्ये ३६ आफैं आए

भरतपुर कारागारबाट बाहिरिएका ७४२ कैदीमध्ये ४४६ कैदी प्रशासनको सूचनापछि स्वस्फुर्त: फर्किएका छन्, बाँकीलाई कारबाहीको चेतावनी दिइएको छ।

आश्विन १, २०८२

रमेशकुमार पौडेल

446 inmates returned to Bharatpur Jail, 36 out of 48 in rhino case came on their own

What you should know

काठमाडौँ — चितवन-भरतपुर कारागारबाट अघिल्लो साता बाहिरिएकामध्ये ४४६ कैदी बन्दी प्रशासनको सूचना अनुसार कारागारमै फर्केका छन् । जेन-जी आन्दोलनका बेलामा काठमाडौं उपत्यकासहित देशका विभिन्न कागारगारमा पनि कैदी बन्दीहरू प्रदर्शनमा उत्रने र भाग्ने क्रम सुरु भएको थियो ।

भरतपुर कारागारमा रहेका ७४२ कैदी बन्दी सबै अघिल्लो बुधबार बिहान कारागारबाट बाहिरिएका थिए । सोही दिन नै प्रशासन कार्यालयले सूचना जारी गर्दै कैदी बन्दीहरूलाई कारागार फर्कन र यसरी फर्कनेलाई थप कुनै कारबाही नहुने जनाएको थियो । सूचना अनुसार नफर्कनेलाई पछि कानुन अनुसार कारबाही हुने सूचनामा उल्लेख थियो ।

‘सुचना जारी भएपछि हिजोसम्म ४४६ जना कैदी बन्दी फर्केका छन्’ भरतपुर कारागार कार्यालयका प्रमुख रवीन्द्र ढुंगानाले भने । स्वस्फुर्त: आउनेहरू लगभग आएको प्रशासनको आकलन छ ।

‘अब हामी अझै एक दुई दिन हेर्छौं । बाहरिएका प्राय हाम्रो निगरानीमा छन् । स्वस्फुर्त: आउन नचाहेकाहरूलाई पनि फर्काउन हाम्रो संयन्त्र परिचालन हुने छ । बरु त्यसअघि नै आए थप कारबाहीमा पर्नुपर्दैन थियो’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले भने ।

कारागार प्रमुख ढुंगानाले बाहिरिएकामध्ये गम्भीर अपराधमा संलग्न भएको अपराध प्रमाणित भएका र अभियोग लागेका पनि फर्केको बताएका छन् । कुन–कुन अपराधका को–को फर्के भनेर विवरण लिइरहेको उनको भनाइ छ ।

गैंडा जस्तो दुर्लभ वन्यजन्तु मारेको र त्यसको अंगको कारोबार गरेका गैंडा सिकारी र तस्करहरू पनि भरतपुर कारागारमा छन् । तिमध्ये केहीलाई निकुञ्जले लामो समय लगाएर प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सिआईबी)को सहयोगमा समाएको थियो ।

कारागार प्रमुख ढुंगानाका अनुसार भरतपुर कारागारमा गैंडा मुद्दाका अपराध प्रमाणित भएर सजाय पाएका कैदी तथा मुद्दा फैसला नभइसकेका थुनुवा गरेर ४८ जना थिए । तिमध्ये ३६ जना फर्किसकेको कारागार प्रमुख ढुंगानाले बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully