भरतपुरमा १७ लाख ७९ हजार नगद भएको एटीएम प्रदर्शनकारीले तोड्दै थिए, प्रहरीले नियन्त्रणमा लियो

आगजनी गर्नेले एटीएमलाई पनि निसाना बनाएका थिए । उक्त घटनामा प्रहरीले एटीएम आफ्नो नियन्त्रणमा लिएको थियो ।

भाद्र ३१, २०८२

रमेशकुमार पौडेल

Demonstrators were breaking an ATM containing 17 lakh 79 thousand cash in Bharatpur, the police took it into custody

चितवन — जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते चितवन सदरमुकाम भरतपुरको अवस्था तनावग्रस्त थियो । जिल्ला प्रशासन, अदालत, मालपोत जस्ता सरकारी भवनमा प्रदर्शनकारीले आगो लगाएर ध्वस्त बनाए ।

तोडफोडका साथै लुटपाट मच्चियो । यसै क्रममा भरतपुरबाट चितवन प्रहरीले प्रदर्शनकारीले तोडफोड गरेको एटिएम नियन्त्रणमा लिएको थियो । जसमा १७ लाख रूपैयाँ भेटियो ।

भरतपुरको मालपोत कार्यालयमा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेसिन प्रदर्शनकारीहरूले आगजनीपछि तोडफोड गर्दै थिए । आगजनीले तत्काल सेवा सुरू गर्न नसक्ने गरेर मालपोत कार्यालय क्षतिग्रस्त भएको छ । महत्वपूर्ण अभिलेख खरानी भएका छन् । यसरी आगजनी गर्नेले एटीएमलाई पनि निसाना बनाएका थिए ।

भदौ २४ गते भएको उक्त घटनामा प्रहरीले एटीएम आफ्नो नियन्त्रणमा लिएको थियो । २७ गते माछापुच्छ्रे बैंकका प्रतिनिधि, प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त एटीएम खोलेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले बताए । एटीएममा १७ लाख ७९ हजार रूपैयाँ भेटिएको थियो । जुन रकम बैंकका प्रतिनिधिलाई भदौ २७ मै बुझाएको डीएसपी खनालले बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully