खानीखोला गाउँपालिका-४ की १९ वर्षीया आयुष्मा ब्लोनको स्थानीय तालढुंगा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअर्न्तगत हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए ।
What you should know
काभ्रे — काभ्रेको खानीखोला गाउँपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएसँगै हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार गरिएको छ ।
खानीखोला गाउँपालिका-४ की १९ वर्षीया आयुष्मा ब्लोनको स्थानीय तालढुंगा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअर्न्तगत हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए । आयुष्मा प्रसूतिका लागि तालढुंगा स्वास्थ्य चौकीमा शनिबार बिहान १० बजे पुगेकी थिइन् । स्वास्थ्य चौकीमा उनी शनिबार नै भर्ना भएकी थिइन् । तर, उनको त्यहाँ सफल सुत्केरी हुन नसकेपछि आइतबार हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
‘यहीँ सुत्केरी गराउने प्रयास गरिरहेका थियौं,' तालढुंगा स्वास्थ्य चौकीकी अनमी ललिता पौडेलले भनिन्, ‘बिहानको १ बजेदेखि उनको स्वास्थ्य अवस्थामा समस्या देखिन थाल्यो, स्वास्थ्य अवस्था जटिल बन्दै गयो, हामीले सक्ने प्रयास सबै गर्दा पनि उनको यहाँ सफल सुत्केरी हुन नसकेपछि पालिकामा खबर गर्यौं, पालिकाले जिल्लामा खबर गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धार गर्ने निर्णय भयो ।'
उनका अनुसार बिहानको १० बजे आइपुगेको हेलिकप्टरमार्फत आयुष्मालाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथली पठाइयो हो । अस्पतालमा पुर्याइएपछि उनको सफल सुत्केरी भएको जानकारी प्राप्त भएको उनले बताइन् । तर शिशुको स्वास्थ्य अवस्था ठीक नभएकाले आईसीयूमा उपचाररत रहेको र आमाको अवस्था सामान्य रहेको परिवारका सदस्यले जानकारी दिएका छन् ।
खानीखोलामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएपछि हेलिकप्टरमार्फत गरिएको यो उद्धार पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष थिङले बताए । यो कार्यक्रम लागू भएपछि यहाँका महिलाहरुलाई हेलिकप्टरबाट उद्धार गर्दा चाँडो उपचार हुने हुँदा आमा र बच्चाको जीवन सुरक्षित हुने विश्वास गरिएको छ ।
