मकवानपुरमा चट्याङबाट चालु आर्थिक वर्षमा २ जनाको मृत्यु भइसकेको छ भने ५ जना घाइते भएका छन् ।
What you should know
हेटौंडा — सामान किन्न आएका बेला पसलमा नै चट्याङ पर्दा मकवानपुरमा एक जनाले ज्यान गुमाउनुपरेको छ । पसल सञ्चालक घाइते भएकी छन् ।
हेटौंडा उपमहानगरपालिका-१६ सानो आकाश धारामा बसोबास गर्दै आएका ३७ वर्षीय बधबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा पसल सञ्चालक २८ वर्षीया अमृता स्याङतान रहेकी छन् ।
चेपाङ हेटौंडा-१५ कमेरो पानीस्थित पसलमा सामान किन्न शुक्रबार बेलुका पुगेका थिए । हुरीबताससँगै चट्याङ पर्न थालेपछि उनी पसलभित्र फ्रिज नजिक बसेका थिए ।
पसल सञ्चालक स्याङतानको अवस्था सामान्य रहेको शनिबार बिहान घटनास्थल पुगेर फर्केका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले बताए । घरमा चट्याङ परेपछि फ्रिजबाट करेन्ट सर्ट भएर चेपाङको मृत्यु भएको र स्याङतान बेहोस भएको प्रहरी निरीक्षक साहले अनुमान गरेका छन् ।
मृतक चेपाङको घरभन्दा घटनास्थल करिब ५ किलोमिटरको दुरीमा रहेको छ । बसोबास हेटौंडा-१६ सानो आकाश धारा भए पनि चेपाङको नागरिकता बारा निजगढ नगरपालिका-१३ को रहेको छ ।
घटनाबारे शुक्रबार राति साढे १० बजे रातोमाटेस्थित प्रहरी चौकीलाई जानकारी आएको थियो । शक्ति खोलामा बाढी आएकाले राति नै घटनास्थल पुग्न नसकेको प्रहरीले जनाएको छ । मृतक चेपाङको शव हेटौंडा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुरमा चट्याङबाट यो चालु आवमा २ जनाको मृत्यु भइसकेको छ भने ५ जना घाइते भएका छन् । गत आवमा ७ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
