करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लगाएर खोलामा माछा मार्न खोज्दा एक युवकको बिहीबार मृत्यु भएको छ ।

भाद्र २०, २०८२

प्रताप विष्ट

Young man died of electrocution

हेटौंडा — करेन्ट लगाएर खोलामा माछा मार्न खोज्दा एक युवकको बिहीबार मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–३ हात्तीसुढे जीतदमारका २४ वर्षीय विजय थिङको करेन्ट लागेर मृत्यु भएको हो ।

बकैया गाउँपालिकाको स्थानीय च्याउच्याउ खोलामा विद्युत्‌को तारबाट हुक लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर विजय घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको दाहिने हातको हत्केलामा घाउ देखिएपछि प्रहरीले थप अनुसन्धान गर्दा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । घरबाट करिब दुई किलोमिटर उत्तर रहेको खोलामा करेन्ट लगाएर माछा मार्न मृतकका बुवा लालबहादुर थिङ पनि छोरासँगै गएका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully