राक्सिराङ गाउँपालिकाले भदौ २१, २२ र २३ गते तीन दिन सार्वजनिक बिदा दिएको हो।
हेटौँडा — चेपाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको छोनाम (न्वाँगी) पर्वमा तीन दिन सार्वजनिक बिदा दिएको छ।
भदौ २२ गते चेपाङ समुदायको पहिचानसंग जोडिएको सांस्कृतिक पर्व छोनाम (न्वाँगी ) परेको छ । राक्सिराङ गाउँपालिकाले मंगलबार सार्वजनिक सुचना जारी गर्दै छोनाम पर्वको अवसरमा गाउँपालिका भरी भदौ २१, २२ र २३ गते तीन दिन सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा जारी गरेको सुचनामा उक्त तिन दिन पालिका भित्र रहेका सबै सरकारी, गैरसरकारी र शिक्षण संस्थाहरु बन्द रहने उल्लेख गरेको छ। वागमती प्रदेश सरकारले विगत दुई वर्षदेखि भदौ २२ गते अर्थात् चेपाङ सम्दुायको महत्वपुर्ण पर्व छोनाम (न्वाँगी)का दिन चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा सार्वजनिक बिदा दिने चलन छ।
