बागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप

बागमती प्रदेशका १३ जिल्लामा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सम्पन्न भएको छ। यस अभियानले हजारौं गाईभैँसीलाई सुरक्षित बनाएको छ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

More than 96,000 cattle were vaccinated against lumpy skin in Bagmati

What you should know

काठमाडौँ — बागमती प्रदेशमा तीव्र रूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ।

लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट आउने, शरीर सुन्निने र जनावर अशक्त देखिने जस्ता लक्षणहरू देखिन्छन्। पछिल्लो समय चितवन जिल्लामा यो रोग तीव्ररूपमा फैलिएको छ। यही रोगको प्रभाव न्यूनीकरणका लागि खोप अभियानको शुरुवात ललितपुर जिल्लाबाट गरिएको थियो भने त्यसपछि क्रमशः अन्य १३ वटै जिल्लामा अभियान सञ्चालन गरिएको वागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसुदन पौडेलले जानकारी दिएका छन्।

लम्पी स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रम अन्तर्गत सिन्धुलीमा १० हजार ३ सय २८ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ। त्यसै गरी रामेछापमा ४ हजार ४ सय ३७, काठमाडौंमा ४ हजार ३ सय ५०, ललितपुरमा ३ हजार ६ सय ६, भक्तपुरमा १ हजार ५ सय ४३, धादिङमा ६ हजार ५१, काभ्रेपलाञ्चोकमा ७ हजार ६ सय ९८ वटा गाईभैँसीमा खोप लगाइ सकिएको छ। त्यसै गरी नुवाकोटमा ७ हजार ७ सय २४, रसुवामा ३ हजार ६ सय ३४, दोलखामा ९ हजार ९ सय ८२, सिन्धुपाल्चोकमा ६ हजार २ सय ८४, चितवनमा ६ हजार १५ र मकवानपुरमा २४ हजार ६ सय ९५ गाईभैँसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको छ।

मन्त्रालयको तथ्यांकअनुसार वागमती प्रदेशभर कुल गाईको संख्या ६ लाख ९४ हजार २ सय १७ रहेको छ भने भैँसीको संख्या ५ लाख ४९ हजार १ सय ८२ रहेको छ। ती पशुहरूले वार्षिक रूपमा जम्मा ४ लाख ८१ हजार ७७१ मेट्रिक टन दूध उत्पादन गर्ने गरेका छन्। जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेको देखिन्छ, जहाँ सात स्थानीय तहमा ९२ हजार २ सय ५६ गाई र ७२ हजार २ सय भैँसी छन्। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत खोप लगाउन शुरु गरिएको खोप कार्यक्रम निरन्तर अहिले पनि जारी रहेको मन्त्री पौडेलले बताएका छन्।

आर्थिक वर्ष २०८०/८१ मा वागमती प्रदेशमा मात्र ११ हजार २१८ गाई तथा भैँसी लम्पी स्किन रोगका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। सोही अवधिमा ३७ हजार ८९ गाईभैँसी संक्रमित भएका थिए भने कुल २ लाख ५६ हजार ७५९ पशु प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए। यसअघि नै प्रदेशभर २ लाख ४५ हजार २२२ गाई तथा भैँसीलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ।

कान्तिपुर

Link copied successfully