अमेरिकी डलर देखाएर ठगी गर्ने तयारीमा रहेका भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा थप अनुसन्धान जारी छ।
सिन्धुपाल्चोक — दोलखा जिल्ला र इलाका प्रहरी कार्यालय बाह्रबिसेको संयुक्त अपरेसनमार्फत बिहीबार डलर काण्डमा संलग्न एक जना पक्राउ परेका छन्। इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेका अनुसार पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–३ धार्पाका विष्णु भण्डारी रहेका छन्।
बिहीबार बाह्रबिसे नगरपालिका–७, सुनकोसीस्थित अरनिको कलेज नजिकैको माथिल्लो जंगल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो।
पाण्डेका अनुसार भण्डारीको साथबाट अमेरिकी ५० डलरका १७ थान र १ डलरका ५४८ थान नोट बरामद गरिएको छ। साथै, बा ०२–०५४ प ०७३२ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।
बाह्रबिसे नगरको सुनकोसी क्षेत्रमा बिहीबार दिउँसो अमेरिकी डलर देखाएर ठगी गर्ने तयारी भइरहेको विशेष सूचनाका आधारमा प्रहरी सतर्क बनेको थियो। डलर साट्ने निश्चित भएपछि प्रहरीले अपरेसन थालेको र त्यस क्रममा भण्डारीलाई नियन्त्रणमा लिन सफल भएको इन्स्पेक्टर पाण्डेले बताए।
पाण्डेले भने, 'फलस्वरूप व्यक्ति र डलरसहित समात्न सफल भएका छौँ, प्रकरणमा थप अनुसन्धान भइरहेको छ।'
त्यस क्रममा जंगलमा पछ्याउने क्रममा सुरक्षाकर्मी र भण्डारीबीच पैठेजोरी चलेको थियो, जसलाई हेर्न स्थानीय बासिन्दा समेत त्यहाँ जम्मा भएका थिए। डलर साट्ने घटनामा संलग्न अर्को युवक भने भाग्न सफल भएको प्रहरीले जनाएको छ। उनले भोटेकोसी खोलाको भीरमा हाम फालेर भागेका थिए।
यस घटनामा इलाका प्रहरी बाह्रबिसेसहित ८ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीले फरार युवकको खोजी जारी रहेको जनाएको छ।
