गुन्सास्थित फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा ५० बाख्रा जलेर मरे। आगो निभाउने क्रममा एक व्यक्ति घाइते।
चौतारा (सिन्धुपाल्चोक) — जिल्लाको सदरमुकामक्षेत्र चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा बुधबार करेन्ट सर्ट भएर आगलागी हुँदा ५० बाख्रा जलेर मरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बिहान करिब साढे ८ बजे विमला श्रेष्ठको नाममा दर्ता गरिएको विदान विधि कृषि पशुपन्छी फार्ममा अचानक आगलागी भएको हो।
फार्ममा रहेका जम्मा ८५ बाख्रामध्ये २९ वटाको उद्धार गरिएको छ भने ६ वटा घाइते भएका छन्। बाँकी ५० बाख्रा जलेर मरेको जिल्ला प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जनाए।
आगो निभाउने क्रममा स्थानीय ४४ वर्षीय चुडामणी श्रेष्ठ घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेकाले चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अन्दाजी ९ बजेतिर स्थानीयवासी र प्रहरीको सहयोगमा आगलागी पूर्ण नियन्त्रणमा ल्याइएको थियो।
