बागमतीका ९६ हजार ३४७ गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप

सबैभन्दा बढी खोप पाएको चितवनमा भने जम्मा ६ हजार डोज मात्रै खोप लगाइएको छ । चितवन बागमती प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा धेरै पशुपालन हुने जिल्ला हो ।

भाद्र ९, २०८२

प्रताप विष्ट

Vaccination of 96 thousand 347 cattle of Bagmati against lumpy skin

What you should know

हेटौंडा — लम्पी स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानमा बागमती प्रदेशमा ९६ हजार गाईभैंसीमा खोप लगाइएको छ। प्रदेशका १३ जिल्लामा भदौ १ बाट सुरु अभियानमा ९६ हजार ३ सय ४७ गाईभैंसीमा खोप लगाइएको हो । 

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १ लाख २० हजार गाईभैंसीमा खोप लगाउने लक्ष्य लिएको थियो । यो अभियानमा लक्ष्यको ८० दशमलब २९ प्रतिशत मात्रै पूरा भएको छ ।

प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरै  मकवानपुरमा खोप लगाइएको छ । २४ हजार ६ सय ९५ डोज मकवानपुरमा  खोप लगाएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिए । 

सबैभन्दा कम खोप ललितपुरमा लगाइएको छ । ललितपुरलाई उपलब्ध गराइएको १० हजार डोज खोपमध्ये ३ हजार ६ सय ९ डोज मात्रै खोप लगाइएको छ । सबैभन्दा बढी खोप पाएको पशु सेवा कार्यालय चितवनमा सप्ताहव्यापी अभियानभर जम्मा ६ हजार डोज मात्रै खोप लगाइएको छ । चितवन बागमती प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा धेरै पशुपालन हुने जिल्ला हो । 

मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत एवं पशुपन्छी विकास महाशाखा प्रमुख डा रामप्रकाश प्रधानका अनुसार चितवनमा गाईको संख्या ९२ हजार २ सय ५६ छ भने भैसीको संख्या ७२ हजार २ सय छ । दूध उत्पादनको क्षेत्रमा चितवन प्रदेशकै पहिलो जिल्ला हो । यहाँ मन्त्रालयका अनुसार चितवनमा वार्षिक ९५ हजार १ सय ४८ मेक्ट्रिक टन दूध उत्पादन हुने गरेको छ ।

यसरी दूध उत्पादनदेखि गाईभैंसीको संख्यासमेत सबैभन्दा धेरै रहेको र मन्त्रालयले सबैभन्दा धेरै ३० हजार डोज खोप उपलब्ध गराएको थियो । चितवनमा रहेका गाईभैंसी फार्महरुले आफैले किनेर खोप लगाएकाले यो अभियानमा खोप कम लगाइएको मन्त्रालयको भनाइ छ ।

भदौ १ देखि ७ सम्म लम्पी स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिएको हो । बागमतीका १३ जिल्लामा ४ लाख ८१ हजार ७ सय ७१ मेक्ट्रिक टन दूध उत्पादन हुँदै आएको छ। मन्त्रालयका अनुसार बागमतीका ११९ स्थानीय तहमा ६ लाख ९४ हजार २ सय १७ गाई र ५ लाख ४९ हजार १ सय ८२ भैंसी रहेका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully