तातोपानी नाका पुन: ठप्प, व्यवसायी आजित

इको क्षेत्रमा पहिरोले सडक बिग्रिएपछि व्यवसायीहरू मालवस्तु बोकाउन भरियाको सहारा लिन बाध्य भएका छन्।

भाद्र ९, २०८२

अनिश तिवारी

Tatopani crossing is blocked again, businessmen are affected

What you should know

सिन्धुपाल्चोक — झण्डै तीन सातापछि बल्ल खुलेको उत्तरी तातोपानी नाका कोदारी राजमार्गको क‍ोदारी (इको)मा सोमबार जमिन भास्सिँदा पुन : ठप्प बनेको छ ।

इकोकै कारण सडक अवरुद्ध हुँदा तातोपानी नाका बन्द हुने अवस्थामा पुग्दा व्यवसायी पहिलेझैं भरियाको भरमा फर्किनुपरेपछि दिक्क छन् । चरिकोट सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुरज महर्जनकाअनुसार सोमबार वर्षातका कारण बगेको सडक मर्मतसम्भार र पुनर्निर्माण गर्न आहिले धमाधम काम भइरहेको छ ।

‘इकोभन्दा माथिल्लो भू–भाग लगातार बगिरहेको छ, यही भूगोलका कारण कठिनाइ भइरहेको छ, सोमबार बेलुकासम्म सडक खुलाउने प्रयासमा छौं,’ उनले भने ।

गत बिहीबार इकोमा झण्डै तीन सातापछि सडक खुलाइएपछि मालवस्तु बोकेका कन्टेनर नेपाल भित्रन थालेका थिए । चीनबाट  सोमबारदेखि दैनिक १४/१५ मात्रै कन्टेनर लिपिङ र कोदारी बजार आएर रोकिएका छन् । 

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयकाअनुसार गत साउन १७ मा अधिकांश फालफूलका कन्टेर भन्सार यार्ड प्रवेश गरेका थिए । यस अवधिमा स्याउ, नास्पाती, आँप, अंगुर, लसुन, किबीलगायतका फलफूल, मसलाजन्य मालवस्तु भरियालाई बोकाएरै तातोपानी भन्सार यार्डसम्म ल्याइएको थियो ।

यस अवधिमा लाखौं मूल्यका फलफूल सड्दा व्यवसायीले घाटा बेहोरेका छन् । फलफूल र लसुन कन्टेनरमै कुहिन थालेपछि भरिया लगाएर बोकाइएको थियो । ‘अब त्यहि समस्या पुन दोहोरिने भएको छ,कहिले सहज बन्ला तातोपानी नाका ?,’ व्यवसायी शारदाप्रसाद पराजुलीले प्रश्न गरे ।

बाढीपहिरोका कारण गत वर्ष र यस वर्ष फलफूल आयातकर्ताले उठ्नै नसक्नेगरी नोक्सानी बेहोर्नुपरेको उनले दुखेसो गरे । इको खण्डका कारण नाका बन्द हुने खुल्ने भइरहेको छैटौं पटक हो ।  

ईलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले यही खण्डका कारण सिंगो नाकामा समस्या भएको बताए ।  ‘(इको खण्ड ) कोदारी क्षेत्रमा बगिरहने पहिरो र साँघुरो भूगोलका कारण भारी बोक्ने भरियालाई हिँड्नसमेत समस्या छ ,’ उनले भने । उता 

इको भास्सिने क्रम नरोकिँदा यसमाथिका दर्जनभन्दा बढी गाउँ जोखिममा छन् । ठूला मेसिन प्रयोग गरेर सडक बनाउँदा गाउँ झन जोखिममा पर्ने भन्दै स्थानीय त्रसित बनेका छन् । भोटेकोसी गाउँपालिका २ का वडासदस्य चेङा शेर्पाका अनुसार यहाँको चौकि डाडा, गुम्बाडाँडा, मिलन बजार, लालबिर चोक, कोदारी गुम्बा क्षेत्र, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बा गाउँक्षेत्रका गरी ७० भन्दाबढी घर जोखिममा परेका छन् ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully