मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।
What you should know
हेटौंडा — मकवानपुरको थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषित भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आइतबार एक समारोहबीच थाहा नगरपालिकालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’घोषणा गरेका हुन् । थाहामा सबै गर्भवती स्वास्थ्य संस्थामा गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेका छन् । थाहा नगरपालिकामा मातृ तथा नवजात शिशु मृत्यु दर शून्य रहेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । उत्तरी क्षेत्रको स्वास्थ्य, शिक्षा, पर्यटन र सडक विकासमा प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताए । मकवानपुर जिल्लामा मात्र होइन, बागमती प्रदेशमै थाहा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको उनले बताए ।
कार्यक्रममा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले थाहाले स्वास्थ्य क्षेत्रमा प्रशंसायोग्य कार्य गरेको बताए ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले स्वास्थ्य मन्त्रालयले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर स्थापना गर्नुको साथै हवाई उद्धारसमेत गरिएको बताए ।
कार्यक्रममा १२ वटा वडामा विभाजित थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो । थाहा नगरपालिकाका शतप्रतिशत गर्भवतीहरु स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेको थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले बताए । गत आवमा थाहा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३ सय ५६ जना सुत्केरी भएका थिए । थाहा नगरपालिकामा १२ वटा स्वास्थ्य संस्थाहरु छन् ।
