राष्ट्रपति महिला उत्थान कार्यक्रममा खानीखोला नसमेटिँदा ज्यान जोखिममा रहेका महिला हवाई उद्धारबाट वञ्चित भइरहेका छन् ।
What you should know
काठमाडौँ — सुत्केरी बेथा लागेपछि भदौ ४ गते खानीखोला गाउँपालिका-६ स्थित माझीटारकी २४ वर्षीया सजिना गोले वडा नं ५ स्थित तालढुंगा स्वास्थ्य चौकीमा पुगिन् । ४ र ५ गते उनी स्वास्थ्य चौकीमै उपचाररत थिइन् । उक्त स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाउने निर्णयमा स्वास्थ्यकर्मीहरू पुगे ।
भौगोलिक रूपमा विकट एवं पूर्वाधार विकासमा काभ्रेको खानीखोला गाउँपालिका पछाडि नै छ । त्यहाँ सडक, बाटो, पुल, स्वास्थ्य संस्था, दक्ष जनशक्ति अभाव लगायतका विविध समस्या छ । खानीखोलामा वर्षाको समयमा यातायातका साधन चल्दैन । उनलाई काठमाडौंसम्म कसरी पुर्याउने चिन्ताको विषय यही भयो ।
हवाई उद्धार गर्न यस पालिकालाई सरकारले कार्यक्रम स्वीकृत गरेको छैन, यहाँका बिरामीले समयमै उपचार पाउन सक्दैनन् - इन्द्रबहादुर थिङ, अध्यक्ष, खानीखोला गाउँपालिकाबाटो सबै बन्द भएकाले खानीखोला हुँदै जिल्लास्थित धुलिखेल पुर्याउन सक्ने स्थिति नभएपछि उनलाई खानीखोला हुँदै मदन भण्डारी राजमार्ग भएर मकवानपुर-काठमाडौं लैजाने तयारीमा जुटे । यसका लागि खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ आफै अग्रसर भए । काभ्रेको खानीखोला र मकवानपुरको हेटौंडा जोड्ने बाटोमा पुल नबन्दा २ घण्टा पैदल हिँड्नपर्ने बाध्यता रहेको थिङ बताउँछन् ।
गर्भवती सजिनालाई पालिका अध्यक्षसहित गाउँका युवाहरुले स्ट्रेचरमा बोकेर वडा नं ६ को माझटारदेखि मकवानपुरको बागमती गाउँपालिका-५को भोर्लेनीसम्म दुई घण्टाको बाटो पैदल हिँडे । बिरामीको अवस्था नाजुक बन्दै गएपछि बिरामीलाई स्ट्रेचरमै बोकेरै शुक्रबार बिहान ६ बजे नै हिँडेको अध्यक्ष थिङले बताए ।
‘वर्षाको समयमा यातायातका साधन चल्दैनन्,’ उनले भने, ‘हवाई उद्धार गर्न यस पालिकालाई सरकारले कार्यक्रम स्वीकृत गरेको छैन, यहाँका बिरामीले समयमै उपचार पाउन सक्दैनन् ।’ गर्भवती महिलाको यहाँ उपचार सम्भव नभएपछि बिरामीलाई स्ट्रेचरमा बोकेरै उपचारका लागि लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पुल नबन्दा पनि पैदल हिंड्नुपर्ने बाध्यता रहेको छ,’ उनले भने, ‘ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि पुल बन्न सकेको छैन, जिल्ला सदरमुकाम पुग्न ६/७ घण्टा लाग्छ, त्यहीँ पनि त्यहाँसम्म सहजै पुग्न सक्ने अवस्था छैन, वर्षाले गर्दा बाटो बिग्रिएको छ ।' हेटौंडासम्म आफू चढ्ने गाडीमा लगेको र त्यहाँबाट काठमाडौंसम्म एम्बुलेन्समा लैजानुपरेको उनले सुनाए ।
विकट महाभारत गाउँपालिकामा भने राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू हुँदा ज्यान जोखिममा रहेका महिलालाई हवाई उद्धारको सुविधा छ । खानीखोला गाउँपालिका भने उक्त सेवाबाट वञ्चित छ ।
भौगोलिक रुपमा विकट रहेको उक्त पालिकाकाका यस्तै जटिल एवं आपतकालीन समयको अवस्थालाई मध्यनजर गर्दै २०७७ सालदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रममा समावेश गर्न केन्द्रमा पटक–पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । ‘निर्वाचित भएदेखि नै पालिकालाई पनि कार्यक्रममा समावेश गर्नको लागि धेरै पटक धाइरहेका छौं,’ उनले भने, ‘६ वर्षदेखि नै लागिरहेका छौं, तर पनि केन्द्रबाट कुनै सुनुवाइ भएन ।'
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जोखिममा रहेको गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याउने गरिन्छ । लगातार लामो बेथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा हात, खुट्टा, शरीर सुन्निएको, अधिक रक्तस्राव भएको, रक्तअल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रुपमा व्याख्या गरिएको छ । सुत्केरीको उद्धार जहाज तथा हेलिकोप्टरमार्फत गरिने कार्यविधिमा उल्लेख छ ।
खानीखोला गाउँपालिकालाई उक्त कार्यक्रममा समावेश गर्न ढिलाइ हुनुका कारणबारे राष्ट्रपति महिला उत्थान कार्यक्रमको परियोजना प्रमुख अन्जु ढुंगानासँग बुझ्दा अहिले कार्यविधि संशोधनको क्रममा रहेको र संशोधन गर्दै गर्दा काभ्रेको खानीखोला गाउँपालिकालाई पनि समावेश गरिएको जानकारी दिइन् । ‘खानीखोलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रममा समावेश गर्ने काम प्रक्रियामा रहेको छ,’ उनले भनिन्, ‘यस शाखाबाट फाइल अगाडि बढाइएको छ, मन्त्रालयदेखिका माथिको निकायबाट कार्यक्रमका लागि फाइल स्वीकृत हुन बाँकी छ, त्यसपछि मात्रै कार्यान्वयनको काम अघि बढ्नेछ ।’
उनका अनुसार, कार्यविधि लागू भइसकेपछिको समयदेखि भदौ ५ गतेसम्म देशभर ८५६ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टर उद्धार गरिएको छ । यस आर्थिक वर्ष सुरु भएयता भदौ ५ सम्म १२ जनाको उद्धार गरिएकामा ४ जना काभ्रेको महाभारत गाउँपालिकाका रहेको उनले जानकारी दिइन् ।
काभ्रेको खानीखोला गाउँपालिका-६ स्थित माझीटारकी २४ वर्षीया गर्भवती सजिना गोलेलाई स्ट्रेचरमार्फत उपचारका ल्याइँदै । तस्बिर सौजन्य : इन्द्रबहादुर थिङ
