कुलेखानी सिमखोलामा बेलिब्रिज तयार, गुड्न थाले सवारी

बेलिब्रिज सञ्चालन नआउँदासम्म खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको थियो ।

भाद्र ६, २०८२

प्रताप विष्ट

Beileybridge ready in Kulekhani Simkhola, vehicles started moving

हेटौंडा — कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा निर्माण गरिएको बेलिब्रिजबाट साना सवारीसाधन आउजाउ गर्न थालेका छन् ।

उक्त पुल भएर ६ टनसम्मका सवारीसाधन आउजाउ गर्न दिइएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नभिन सिंहले बताए । उनका अनुसार हेभी सवारीसाधनलाई भने रोक लगाइएको छ ।

४० दिनमा सबै काम सम्पन्न गरेर सवारीसाधन सञ्चालन गर्न थालिएको हो । भैंसे-भीमफेदी सडकखण्डमा प्रयोगविहीन अवस्थामा रहेका २ वटा बेलिब्रिज झिकेर सिमखोलामा जडान गरिएको हो ।यसका लागि ३० जना प्राविधिक र कामदार खटेका थिए ।

पुलको दायाँबायाँ अर्थात् पहुँचमार्ग नै बगाएकाले बेलिब्रिज राखिएको हो । बेलिब्रिज राख्न, पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियरियर्स प्रालिले एक करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएको थियो । 

Beileybridge ready in Kulekhani Simkhola, vehicles started moving

गत असोज ११ र १२ को भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फलो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । बेलिब्रिज सञ्चालन नआउँदासम्म खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको थियो । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully