मनहरी गाउँपालिका-९ ज्यामिरस्थित जलेश्वर मन्दिर अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्री गढिमाई नगरपालिका-४ का ४६ वर्षीया परमज्योति देवी चौधरीको मृत्यु भएको हो।
हेटौँडा — पूर्व-पश्चिम राजमार्गको मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरस्थित जलेश्वर मन्दिर अगाडी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। उपचारको क्रममा पैदल यात्रुको बुधबार बिहान मृत्यु भएको हो ।
मनहरीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको प्र.३–०२–००६ प १९८० नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेको पैदलयात्री रौतहटको गढिमाई नगरपालिका-४ का ४६ वर्षीया परमज्योति देवी चौधरीलाई मंगलबार ठक्कर दिएर घाइते बनाएको थियो।
तत्कालै उपचारको निम्ति उनलाई पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मोटरसाइकल चालक २१ वर्षीय असवयस पुडासैनी र पछाडी सवार ४६ वर्षिया भगवती पुडासैनी घाइते भएका थिए।
घाइतेद्धय आमा छोरा हुन । घाइते भगवतीको चितवन अस्पतालमा उपचार भइरहेको छ। चालक पुडासैनी उपचारपश्चात इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन्।
