नक्कली सुनलाई सक्कली भनी ठगी गर्ने ४ जना पक्राउ

पक्राउ पर्नेहरुमा मकवानपुरगढी गाउँपालिका—२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका—८ का ४५ वर्षीय सूर्यबहादुर नेगी, ४४ वर्षीय सेतेलाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका—१ भाल्चेका ४८ वर्षीय नाम्केल तामाङ रहेका छन् ।

भाद्र ४, २०८२

प्रताप विष्ट

4 arrested for cheating fake gold by calling it pure

हेटौंडा — नक्कली सुनलाई सक्कली भनी ठगी गरेर हिँड्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरगढी गाउँपालिका—२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका—८ का ४५ वर्षीय सूर्यबहादुर नेगी, ४४ वर्षीय सेतेलाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका—१ भाल्चेका  ४८  वर्षीय नाम्केल तामाङ रहेका छन् । चारैजनालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका—११ सुकुम्वासी टोल त्रिवेणीचोकस्थित एक घरबाट पक्राउ गरेको हो । प्रहरीका अनसार उनीहरु कोठा भाडामा लिएर बसेका रहेछन् । कोठाबाट पीएएमपी लेखिएको सुन जस्तो देखिने पहेँलो धातु–५० थान प्रहरीले बरामद गरेको थियो ।

बरामद धातुमध्ये एक थान १० ग्रामको मात्र सुन भएको र अरु ४९ थान नक्कली भएको परीक्षणबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । १० ग्रामको एक थान सुन थप अनुसन्धान र कारबाही गर्न राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको र ४९ थान पहेँलो धातुको सम्बन्धमा उनीहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ठगी उद्योग कसुर मुद्दामा म्याद अनुमति लिई अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully