भोटेकोशी–५ जलविद्युत् आयोजनाले सार्वजनिक सुनुवाइ सकेर प्रकिया अघि बढाएको जनाएको छ ।
What you should know
सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगरपालिकामा निर्माणको तयारीमा रहेको ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजनाले सार्वजनिक सुनुवाइ सकेर प्रकिया अघि बढाएको छ । सोमबार बाह्रबिसे नगरपालिकाको कर्भडहलमा आयोजना प्रभावितलाई जम्मा पारेर सुनुवाइ सकेर आफ्नो दीर्घकालीन कार्ययोजानबारे जानकारी गराएको हो ।
आयोजनाका अध्यक्ष मोहनविक्रम कार्कीका अनुसार बाह्रबिसे-३ ,४ ,५ ,८ ,९ र त्रिपुरासुन्दरी गाउँपालिका ३ का प्रभावितसँग आयोजनाले छलफल गर्दै सुनुवाइ सकेको हो । ‘स्थानीयको माग र गुनासो सम्बोधन गरेर सुनुवाइ सकेर बल्ल आयोजना अघि बढेको छ, विवाद समाधान गरेर छलफलमा आएका छौं, अब आयोजना अघि बढ्छ,’ उनले भने ।
१०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहबाट निस्कने पानीमै टनेल हालेर नयाँ आयोजना बनाउन लागिएकामा यसअघि स्थानीयले वातावरणीय असर पर्ने भन्दै स्थानीयले विरोध जनाएर सडकमा उत्रिएका थिए ।
आयोजनाको सुरुवाती बिन्दु भोटेकोशी ५ स्वीचयार्ड, स्वीचयार्डबाट करिब ३ दशमलव ४७ किलोमिटरको दुरीमा रहेको प्रस्तावित सुनकोशी हब पुलिङ स्टेसनसम्म हुने कार्कीले जनाए । सुनकोशी हब पुलिङ स्टेसनबाट करिब १ दशमलव ३ किलोमिटरको दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको बाह्रबिसे सबस्टेसन सम्म ४०० केभी डबल सर्किट प्रसारण लाइन अन्तिम बिन्दु रहनेछ ।४ दशमलव ७७ किलोमिटर (३.४७ किलोमिटर प्लस १ दशमलव ३० किलोमिटर ) कुल लम्बाइ रहेको सुरुङ डबल सर्किट रहनेछ । २ सय २० केभी तथा ४ सय केभी प्रसारण लाइनको भोल्टेज रहनेछ । प्रस्तावित प्रसारण लाइनमा कुल १७ वटा टावर रहनेछन् ।
स्थानीय चिन्तित
कालिका हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाको पावर हाउस बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाको सिमाना जुरेमा पर्नेछ । तर, नदीको पानी सुरुङमार्फत प्रयोग गर्दा वातावरणीय सन्तुलन बिग्रन सक्ने भन्दै स्थानीय चिन्तित छन् ।
सुनुवाइमा पनि बाह्रबिसे बजार, मानेश्वारा, राम्चेलगायत क्षेत्रका स्थानीयले आफ्नो माग सम्बोधन नगरे आयोजनालाई अघि बढ्न नदिने चेतावनी दिएका छन् । आयोजनाले यहाँको भुगोल ध्वस्त बनाउने र नदी सुकाउने भन्दै आयोजनालाई बाह्रबिसे नगरपालिका-८ का विकेश लामाले प्रश्न गरे । ‘यो आयोजनाले घरबस्ती जोखिममा पर्नेछ ,यसको जिम्मेवारी पनि आयोजनाले लिनुपर्नेछ, यहाँको प्रभावित र घरबस्तीको बिमा हुनुपर्नेछ, ’ उनले भने । लामासहित स्थानीय ओम तामाङ, प्रदीप पौडेललगायतले आयोजनालाई सुझाव दिएका थिए ।
