तनहुँमा जन्मिएका नन्दन नारायणगढमा बस्दै आएका थिए, उनको निधन भरतपुरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा भएको हो।
चितवन — साहित्यकार प्रेम विनोद नन्दनको निधन भएको छ । विसं १९९२ साल जेठमा तनहुँ बन्दीपुरमा जन्मेका नन्दन बसाइँ सरेर नारायणगढमा बस्दै आएका थिए ।
उनको आइतबार राति साढे नौ बजेतिर उपचारका क्रममा भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन निधन भएको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा साहित्यकार बालकृष्ण थपलियाले जानकारी गराए ।
२०१५ सालदेखि नै चितवनमा सक्रिय नन्दनको २०११ सालमै ‘झटारो’ गीत संग्रह निस्केको थियो । नन्दनले लेखेको रचना राष्ट्रिय गानको उत्कृष्ट १० भित्र पनि परेको थियो । नन्दन गीत, गजल र कविता लेखनमा सक्रिय रहेका थिए ।
भरतपुरमा एफएम रेडियो खुलेपछि उनलाई लिएर सिनर्जी एफएमले सञ्चालन गरेको गजल कार्यक्रम ‘अनुराग’मा चल्ने ‘गजलमा दोहरी’ले चितवन क्षेत्रमा गजलको माहोल बढाएको थियो ।
झटारोसहित चार गीत संग्रह, एक लघु काव्य र एक कविता संग्रह प्रकाशित गरेका नन्दनका गीतहरु नेपाली चलचित्रमा पनि समावेश छन् । नन्दनलाई राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्यका ‘गोल सिमल’ भन्ने गर्दथे ।
चितवनको पुरानो सांस्कृतिक संस्था नारायणी कलामन्दिर र दर्जनौं साहित्यिक संघ संस्थामा नेतृत्व गरिसकेका नन्दन छिन्नलता गीत पुरस्कार, नारायणी प्रज्ञा पुरस्कार लगायतका पुरस्कार र सम्मानबाट सम्मानित श्रष्ठा हुन् ।
