१६ वर्षमुनिका २८ बालिका बलात्कृत

प्रहरीको अनुसन्धानमा अधिकांश बालिका छिमेकी र आफन्तबाट प्रलोभनमा परी बलात्कृत भएको पाइएको छ।

भाद्र २, २०८२

प्रताप विष्ट

28 girls under the age of 16 were raped

What you should know

हेटौंडा — आर्थिक वर्ष २०८१/०८२ मा हेटौंडामा १६ वर्ष मुनिका २८ बालिका बलात्कृत भएका छन् । कूल ४१ जना बलात्कारमा परेकोमा २८ जना १६ वर्ष मुनिका बालिका रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार ती मध्ये पनि ९ जना १० वर्षमुनिका छन् भने १९ जना १० देखि १६ वर्ष उमेकार रहेका छन् । १६ वर्षदेखि माथिका १३ जना बलात्कृत भएका छन् ।

५ वर्षदेखि १६ वर्षसम्मका बालिकाहरु अधिकांश छिमेकी र आफन्तहरुबाट बलात्कारको शिकार बनेका छन् । शहरी क्षेत्रमा मात्र नभई, ग्रामीण क्षेत्रका बालिकाहरु पनि यौन हिंसा पीडित बन्ने क्रम बढ्दो छ । 

प्रहरीको अनुसन्धानको क्रममा शहरी क्षेत्रमा गलत संगत, अश्लिल सामग्रीहरु हेर्ने र मादक पदार्थ सेवन गर्ने किशोरी तथा महिलाहरु बढी बलात्कारको शिकार हुने गरेका छन् । 

यस्तै बालिकाहरु भने प्रलोभनमा परी पीडामा पर्ने गरेका छन् । बालिका बलात्कारमा अधिकांश छिमेकी र आफन्तकै संलग्नता हुने गरेको प्रहरीले जनाएको छ । 

बालबालिका र महिलाको अधिकारको क्षेत्रमा काम गर्दै आएकी माइती नेपाल मकवानपुरकी प्रमुख माया लामाले भनिन, ‘आफन्त र छिमेकहरुबाट नै विशेषगरी बालिकाहरु असुरक्षित छन् ।’ 

गाउँमा अभिभावकहरुको हेरविचारमा कमी र चेतनाको अभाव तथा गरिबीको कारणले अन्जान बालिकाहरु बलात्कारको शिकार हुन पुगेको उनको भनाइ छ । अघिल्लो आब अर्थात्  ०८०/०८१ मा ३० बालिका बलात्कृत भएका थिए । यसै अवधिमा १६ वर्ष माथिका २४ जना महिला बलात्कृत भएका थिए । 

बालिका बलात्कारमा संलग्न रहेकामध्ये प्रहरीले अधिकांशलाई पक्राउ गर्न सफल भएको छ । बलात्कृत बालिकाहरुको हेरविचार स्याहार सुसार गर्दै आएकी माइती नेपाल हेटौंडा शाखाकी प्रमुख लामा भन्छिन्, ‘बालिकालाई बलात्कार गर्नेहरुलाई समाजले दुत्कार्नुपर्छ र राज्यले कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।’ 

बलात्कृत बालिकालाई समाज र परिवारमा पुर्नस्थापना गराउन सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ । बलात्कार गरेको अपराध प्रमाणित भएमा मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १८ बमोजिम करणीसम्बन्धी कसुरमा ७ वर्षदेखि १० वर्ष सम्म कैद, अपांगता भएकाको हकमा थप ५ वर्ष कैद हुन सक्ने कानुनी प्रावधान छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully