विशेषगरी सामाजिक सुरक्षा भत्ता वितरण एवं परिचयपत्र नवीकरण सेवा शिविरमार्फत् दिइरहेका छन्।
काभ्रेपलाञ्चोक — गाउँ छाडेर सहर बस्ने आफ्ना नागरिकलाई काभ्रेपलाञ्चोकका स्थानीय तहले शिविरमार्फत सेवा दिन थालेका छन् । चौँरीदेउराली गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकका लागि शिविर सञ्चालनको तयारी गरेको छ भने तेमाल गाउँपालिकाले साउन तेस्रो साता शिविरमार्फत सहरमा बस्नेलाई आवश्यक सेवा दिएको थियो ।
विशेषगरी सामाजिक सुरक्षा भत्ता वितरण एवं परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ । चौँरीदेउरालीले सार्वजनिक सूचना नै प्रकाशन गरी आजदेखि काठमाडौँको विभिन्न स्थानमा सेवा दिने जनाएको हो । करिब एकहप्ते शिविरमार्फत सेवा दिन सार्वजनिक गरी तालिकामा मिति र वडा नं उल्लेख गरी उक्त वडाका नागरिकलाई सेवा दिने जनाइएको छ ।
यसअघि यही साउन तेस्रो साता जिल्लाको तेमाल गाउँपालिकाले साउन तेस्रो साता गाउँ छाडेर काठमाडौँ उपत्यकालगायतका सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको थियो । गाउँपालिकाले विशेषगरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो । एकहप्ते शिविरबाट सामाजिक सुरक्षा भत्ता लिने पाँच सय ९१ नगरिकलाई सेवा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले जहाँ गाउँपालिकाको नागरिक बस्छन् त्यही सेवा दिने कार्यलाई निरन्तरता दिइने तथा यस्ता नवीनतम् कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजने योजना बनाउँदै गरेको बताए। अभिलेख अद्यावधिकमा पनि टेवा पुगेको जनाउँदै गाउँपालिकाले उपत्यकालगायत सहरमा बस्नेले अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त हुने जनायो ।
