दुई पञ्चायतको विवादले ५ दशकसम्म काभ्रेको भुम्लु गाउँपालिका ७ र ८ वडाका साढे ९ सय परिवार लाजपूर्जाविहीन थिए, मंगलबारदेखि लालपुर्जा वितरण गर्ने तयारीले उनीहरु उत्साहित भएका छन् ।
What you should know
काभ्रे — आफूसँग भएको जमिनलाई आधिकारिक रूपमा पुष्टि गर्ने एउटै आधार हो, लालपुर्जा । काभ्रेको भुम्लु गाउँपालिका–७ र ८ का ९ सय ६९ जनासँग आफ्नो जग्गाजमिन भए पनि पुष्टि गर्ने आधार छैन । यो समस्या अहिलेको भने होइन । ५० वर्षदेखि वडा ७ र ८ का ९ सय ६९ जना लालपुर्जाविहीन छन् ।
लालपुर्जा पाउने आशामा भुम्लु–८ स्थित हबेलीकी ५६ वर्षीया गोमा खड्का १० वर्षदेखि प्रतीक्षारत छिन् । १० वर्षअघि हबेलीमा १५ लाख रुपैयाँमा ३ आना जग्गा किनेर घर बनाए पनि आफ्नो सम्पत्ति भनेर पुष्टि गर्ने लालपुर्जा प्राप्त नभएको उनले बताइन् ।
‘त्यत्तिका पैसा तिरेर लगानी गरेर घर त बनाइयो,’ उनले भनिन्, ‘त्यहीँ जग्गामा घर बनाए पनि आफ्नै जग्गा हो भन्ने कुनै आधार नै छैन, अहिलेसम्म हामीले पुर्जा पाएका छैनौं ।’ यो समस्या उनको मात्रै होइन ।
गाउँपालिकाको वडा ७ का ३ सय ८० र वडा ८ का ५ सय ८९ जनाको समस्या एउटै छ । विसं २०३२ सालमा तत्कालीन भुम्लु र फलाँटे गाउँ विकास समितिबीच सिमाना विवाद भएपछि त्यहाँका बासिन्दाले जग्गा नापी भए पनि लालपुर्जा पाउन सकेका थिएनन् ।
लालपुर्जा प्राप्त नहुँदा वर्षौंदेखि आफूहरूले अनेकन् समस्या झेल्दै आएको वडा ८ स्थित भुम्लुटारका ६१ वर्षीय रामबहादुर तामाङले बताए । ‘आफूसँग लालपुर्जा नहुँदा केही लगानी तथा व्यापार/व्यवसाय गर्न पाएका छैनौं, आधुनिक खेती गर्न पनि पहिला त लालपुर्जा नै चाहिने रहेछ,’ उनले भने, ‘सिमाना विवादका कारण रोकिएको भनिएका कारण हामीले ५० वर्षसम्म समस्या झेल्नुपर्यो ।’
वडा–७ स्थित फलाँटेका ६८ वर्षीय दलबहादुर परियारले लालपुर्जा नै नपाउँदा धेरै दुःख भएको बताए । ‘जमिन हाम्रो हो भन्ने त सबैलाई थाहा छ, कर पनि तिरेर खायौं,’ उनले भने, ‘आधा जीवन बित्दा पनि कानुनले पुष्टि गर्ने लालपुर्जाको प्रमाण हाम्रो हातमा आएको छैन ।’ वडा–७ तर्खौलेकी मैंया भुजेललाई लालपुर्जा वितरण के कारणले रोकिएको भन्ने कुरा थाहा छैन । तर, लालपुर्जा चाँडै पाइन्छ भन्ने सुनेको चाहिँ धेरै वर्ष भयो । ‘लालपुर्जा दिने रे अब भनेर धेरै पटक छलफल भएकोचाहिँ थाहा छ,’ उनले भनिन्, ‘लालपुर्जा पाइन्छ भन्दै कुरेको पनि धेरै वर्ष भयो, सबै विवरण टिपेर लगिसेका छन्, अब त चाँडै पाइन्छ कि भन्ने आस लागेको छ ।’
५ दशकदेखि उनीहरूको जस्तै समस्या रहेका दुई वडाका करिब १ हजार जनाले अब लालपुर्जा प्राप्त गर्ने भएका छन् । दुवै वडाका बासिन्दालाई मंगलबार लालपुर्जा वितरण गर्ने गाउँपालिकाको तयारी छ । लालपुर्जा वितरणका लागि पालिकाले स्थानीयसँग छलफलको क्रममा वडा–७ का भोजराज उप्रेतीले पाँच दशक लामो प्रतीक्षा, अनेकौं निराशा र विवादपछि जग्गाको कानुनी प्रमाणपत्र पाउन लागेकोमा खुसी व्यक्त गरे ।
‘हामीले प्राप्त गर्न लागेको यो केबल एउटा कागज मात्र होइन, यो हाम्रो पहिचान, अधिकार र भविष्यको आशा हो,’ उनले भने । वडा–७ जुरेडाँडाकी फूलमाया तामाङ लालपुर्जा पाएपछि घर व्यवहार तथा अरू कारोबार गर्न सहज हुने बताउँछिन् । भन्छिन्, ‘लालपुर्जा नहुँदा धेरै दुःख पाएका थियौं, केही कारोबार गर्न पनि सकिएको थिएन, धेरै वर्षपछि लालपुर्जा पाउने भयौं, हाम्रो लागि यहीँनै ठूलो कुरा हो ।’
५० वर्षदेखि यहाँको दुई वडाका बासिन्दाको प्रतीक्षाको समय अब सकिएको भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार नापी र मालपोतका कर्मचारीले सबै प्रक्रिया पूरा गरेपछि वडा–७ का १ सय ७४ र वडा–८ का २ सय ४ जनालाई लालपुर्जा दिने तयारी भएको छ । नापी टोली चार महिनासम्म सम्बन्धित क्षेत्रमै खट्ने भएकोले यो अवधिमा प्रमाण पुगेका बाँकी परिवारलाई पनि लालपुर्जा वितरण गरिने उनले बताए ।
गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले ५० वर्षसम्म जग्गा भएर पनि कानुनी प्रमाणपत्र बिना बिताउनुपर्दा स्थानीयलाई मात्र होइन, हाम्रो स्थानीय शासनलाई समेत अपूर्ण बनाएको बताए । ‘अहिले लालपुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘यो भुम्लुबासीको अधिकार मात्र होइन, न्याय दिलाउने ऐतिहासिक कदम हो ।’ लालपुर्जाविहीन नहुँदा स्थानीयले पाएको दुःख अब अन्त्य हुने गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । ‘यो केवल लालपुर्जा वितरण मात्र होइन, भुम्लुबासीको जीवनमा कानुनी पहिचान, आत्मविश्वास र आर्थिक सुरुवातको नयाँ अध्याय हो,’ उनले भने, ‘लालपुर्जा पाउनुपर्ने यहाँका सबै नागरिकलाई प्रदान गर्न गाउँकार्यपालिका प्रतिबद्ध छ ।’
५० वर्षदेखि लालपुर्जा नपाउनुको प्रमुख कारण यस्तो थियो ?
साबिकको पिपलटार गाउँपञ्चायतको खेतीयोग्य जमिन पिपलटार टुक्रिएर भुम्लुटार र फलाँटे पञ्चायत हुँदा दुवैमा परेपछि उक्त जमिन कता पार्ने भन्ने विवाद भएको थियो । विसं २०३२ सालमा नापी गर्न गएको टोली र दुई पञ्चायतको विवाद बढेका कारण नापी टोली फर्किँदा स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । २०३५ सालमा पुनः नापी टोली गएको थियो । उक्त समयमा पनि दुई पञ्चायतबीच जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।
भुम्लु गाउँपालिका–७ र ८ को रहेको लालपुर्जाको समस्या वर्षौंसम्म समाधान नभएपछि २०७५ माघ १० गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनिल मरासिनीको संयोजकत्वमा समिति, २०८० माघ २ गते नापी कार्यालयका अधिकृत जयराम तामाङ नेतृत्वमा समस्या समाधान अध्ययन समिति गठन गरेको थियो ।
त्यस्तै २०८१ जेठ ३१ गते कार्यालयले तयार पारेको प्रतिवेदन र मन्त्रालयले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रयोजनका लागि कार्ययोजना तयार गर्न नापी अधिकृत इन्जिनियर ग्रीष्म प्रधानको अध्यक्षतामा कार्यदल गठन गरिएको थियो ।
उक्त कार्ययोजना अनुसार मंगलबार लालपुर्जा वितरण गरिन लागेको हो । स्थानीयसितको छलफलमा कतिपय धनीले आफ्नो जग्गाको लगत भिड्ने कागजात नल्याउँदा काम गर्न समस्या देखिएको समस्या विषयमा कर्मचारीले गुनासो गरेका थिए । त्यस्तै अहिले बसाइँसराइ गरी सहरी क्षेत्रमा बस्दै आएकाहरू कार्यालयले निकालेको सूचना अनुसार समयमा सम्पर्कमा नआउँदा पनि काम गर्न कठिनाइ भएको गुनासो आएको थियो ।
