हेटौंडाका १३ प्रतिशत गर्भवती २० वर्ष मुनिका किशोरी

गत आवमा गर्भ परीक्षण गराउने ३ हजार ३ सय २० मध्ये ४ सय २ जना २० वर्ष भन्दा कम उमेरका किशोरी रहेको पाइएको छ ।

भाद्र १, २०८२

प्रताप विष्ट

13 percent of Hetaunda are pregnant girls under 20 years of age

What you should know

हेटौंडा — स्वास्थ्यका दृष्टिले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु शारीरिक रुपमा अपरिपक्व मानिन्छ । २०७५ भदौदेखि लागू भएको मुलुकीसंहिताले २० वर्षभन्दा कम उमेरमा विवाह नै गर्न नपाउने व्यवस्था गरेको छ ।

स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण र पछिल्लो कानुनले विवाहसमेत निषेध गरे पनि हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र करिब १३ प्रतिशत गर्भवती २० वर्षभन्दा कम उमेरका हुने गरेका छन् । यो संख्या स्वास्थ्य संस्थामा गर्भ परीक्षणका लागि आउने मध्येका हुन् । 

स्वास्थ्य संस्थासम्म पहुँच नै नभएका र पहुँच भएर पनि स्वास्थ्य संस्था नआउनेको संख्यालाई पनि खोजी गर्ने हो भने यो अनुपात अझै बढ्ने निश्चित छ । हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी भोला चौलागाईका अनुसार नगर क्षेत्रका कूल गर्भवतीमध्ये २० वर्ष मुनिका करिब १३ प्रतिशत गर्भवती हुने गरेका छन् ।

गत आवमा गर्भ परीक्षण गराउने ३ हजार ३ सय २० गर्भवतीमध्ये ४ सय   २ जना २० वर्ष भन्दा कम उमेरका रहेको पाइएको छ । मुख्यतः बालविवाहका कारण कम उमेरमै गर्भवती हुने गरेका छन् ।

हेटौंडा अस्पतालमा आव ०८१/०८२ मा २० वर्ष मुनिका करिब ८ प्रतिशत अर्थात २ सय ४० जना गर्भवती सुत्केरी भएका थिए । हेटौंडा अस्पतालमा गत आवमा ३ हजार २ सय २९जना सुत्केरी भएका थिए । हेटौंडा अस्पतालमा अघिल्लो आवमा ३ हजार ३ सय ४९ जनाको सुत्केरी भएका थिए । तीमध्ये २ सय ४५ जना २० वर्ष मुनिका थिए अस्पतालका रेकर्डर हरिस मल्लले बताए ।

कम उमेरमा गर्भवती हुँदा गर्भवती बालिका र गर्भमा रहेका शिशु दुवैलाई जोखिम रहन्छ । नगरक्षेत्रमा देखिएको समस्यालाई लिएर हेटौंडा उपमहानगरपालिकाले समाधानका योजना पनि बनाएको जनाएको छ । हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिनाका अनुसार आमा समूह, बालक्लब परिचालन गरेर बालविवाह रोक्ने प्रयास गरिने उनको भनाइ छ । 

‘अभिभावकको सहमतिमा हुने बालविवाह न्यून भए पनि भागी विवाह गर्नेको संख्या उल्लेख्य रहेको छ’, उनले भने ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully