विदेशी पर्यटकको हात्ती सफारीप्रतिको रुचि घट्दै जाँदा, सौराहाका व्यवसायी 'इलिफेन्ट वाक'जस्ता नयाँ विकल्प खोज्न थालेका छन् ।
What you should know
चितवन — वार्षिक तीन लाख बढी पर्यटक भित्र्याइरहेको चितवन निकुञ्जमा पर्यटनको ब्राण्ड जस्तै बनेको हात्ती सफारीको आकर्षण पहिला जस्तो छैन । विगतमा सौराहा क्षेत्रमा मात्रै ९० वटा हात्ती सफारीमा जाने गर्थे । अहिले त्यो संख्या आधा घटेको छ ।
कोरोनापछि हात्तीको संख्या ओरालो लाग्न सुरु भएको हात्तीधनी बताउँछन् । सौराहाआडको बाघमारा मध्यवर्ती वनको कार्यालय हातामा मंगलबार ६० हात्तीको जमघट थियो । १४ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसर पारेर सफारीमा जाने हात्ती सञ्चालकहरुको सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले हात्तीका लागि वनभोज राखेको थियो । पिकनिकको मेवा मिष्ठान्न खान आएका सबै सफारीमा जाने हात्ती थिएनन् ।
त्यहाँ २१ वटा सरकारी अर्थात चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका हात्ती थिए । निकुञ्जका हात्ती सफारीमा जाँदैनन् । गस्ती र संरक्षणका अन्य गतिविधिमा मात्रै ती हात्ती प्रयोग हुन्छन् । निजी हात्तीमध्ये सपना भिलेज लजका चार हात्ती पनि सफारीमा जान छाडेका छन् । पिकनिक खान आएका सहकारीमा आबद्ध ३० र अन्य केही निजी हात्ती मात्र सफारीमा जाने हात्ती हुन् ।
‘अहिले हाम्रो सहकारीमा २४ जनाका ३० हात्ती छन् । सहकारी बाहिर पनि १५ हात्ती निजी व्यवसायीले पालेका छन् । जबकि कुनै बेला सहकारीमा रहेका र नरहेका निजी गरेर सौराहामा सफारीमा जाने ९० हात्ती थिए,’ युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष दिपेन्द्र खतिवडाले भने । खतिवडाको आफ्नै एउटा हात्ती छ । पहिला उनका दुई हात्ती थिए । सहकारीमा कुनै बेला ६५ वटासम्म हात्ती रहेको अध्यक्ष खतिवडा बताउँछन् । ‘मसँग १०/१५ वर्षदेखि एउटा हात्ती मात्रै छ । सहकारीमा रहेको हात्तीको संख्या कोभिडपछि घट्दै गएर ३० मा झरेको हो,’ अध्यक्ष खतिवडाले भने ।
व्यवसायीले भारतबाट किनेर या भाडामा ल्याएर हात्ती पालेका थिए । कोभिडकालमा पर्यटक नआउँदा हात्ती पाल्न गाह्रो हुने देखेर भारततिरै धमाधम हात्ती फिर्ता गर्ने या बिक्री नै गर्ने क्रम चल्यो । एउटा हात्तीको औषधि उपचारसहित प्रतिमहिना एक लाख ५० हजार रुपैयाँ पर्ने उनले सुनाए । ‘डेढ करोड रुपैयाँ बराबरको हुन्छ भन्ने छ हात्ती । पाल्न उस्तै गाह्रो छ । कोभिडमा भविष्य के होला भनेर हटाउने क्रम बढ्यो । तीन वर्षयता भने हात्तीको संख्या स्थिर छ,’ अध्यक्ष खतिवडाले भने ।
पर्यटनमा हात्तीको प्रयोगलाई लिएर विवाद पनि उठेको छ । विदेशी पर्यटक खास गरेर युरोपका विभिन्न देशबाट आउनेहरु हात्ती चढेर सफारीमा जान रुचाउँदैनन् । सन् २०१४ को डिसेम्बरमा जर्मनीको एक संस्थाले पर्यटनमा हात्तीको प्रयोगलाई अनुचित ठहर गर्दै अपिल नै गरेको थियो । हात्ती सवारसँग सम्बन्धित पर्यटकीय कार्यक्रमलाई कटौती गर्न संस्थाले टुर अपरेटरहरुलाई अनुरोध समेत गरेको थियो । लगत्तै युरोपका विभिन्न देशका टुर अपरेटरहरुले यसलाई अनुसरण सुरु गरेका थिए । सफारीमा प्रयोग हुने हात्तीमाथि अमानवीय व्यवहार हुने गरेको भन्दै संस्थाले यसलाई प्रसय नदिन भनेको थियो ।
जर्मनीको म्युनिखमा कार्यालय रहेको ‘प्रो–वाइल्डलाइफ’ले २०१४ को डिसेम्बर १८ मा जारी गरेको विज्ञप्तिमा भनिएको थियो ‘एसिया तथा अझ बढ्दो रुपमा भन्ने हो भने अफ्रिकामा हात्तीको छावाहरुलाई जंगलबाट समाती लाभदायक पयर्टकीय व्यवसायको निम्ति प्रयोग गरिन्छ ।’ त्योबेला प्रो–वाइल्ड लाइफका डेनिएला फ्रेयरले विज्ञप्ति जारी गरेका थिए । त्यसको प्रभाव चितवनको हात्ती सफारीमा पनि देखिन थाल्यो ।
‘हात्तीमा चढ्न गएका विदेशी गेस्ट हात्तीलाई पीडा हुँदो रहेछ भन्न थाले । गेस्टहरु हात्ती सफारीमा नै जान मन नगर्ने भए,’ सौराहाको होटल सपना भिलेजका सञ्चालक तथा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) सौराहाका अध्यक्ष ध्रुव गिरीले सुनाए । १७ वर्षदेखि हात्ती पालेर सफारीमा लगाउँदै आएका गिरी यो कुराले चिन्तित देखिए । अनि उनले नयाँ कार्यक्रम सुरु गरे ।
‘मसँग अहिले चार वटा हात्ती छन् । ती हात्ती सफारीमा जाँदैनन् । खोला किनारको काँसघारी क्षेत्रमा हात्ती हिँड्दा गेस्ट पनि सँगै हिँड्छन् र रमाउँछन् । पाँच ६ वर्ष भयो मैले यो कार्यक्रम राखेको जसलाई ‘इलिफेन्ट बुस वाक भनिन्छ’ गिरीले भने । यसरी वाक गर्नेमा अधिकांश युरोपका पर्यटक छन् । ‘बुस वाक गरेर ब्रेकफास्ट पनि हात्तीसँगै खान्छन् । यो प्याकेजको एक जनाको ३५ सय रुपैयाँ जति पर्छ । सफारीको २५ पर्छ । वाकमा पैसा बढी भयो भन्दैनन् । खुसी छन्,’ गिरीले भने । सफारीमा जाने पर्यटक कटौती हुँदा हात्तीसँग सम्बन्धित हात्ती मैत्री अन्य गतिविधि थप्नुपर्ने आवश्यकता बढेको उनले बताए । सहकारीले पनि एक वर्षअघि यस्तै 'इलिफेन्ट वाक' सुरु गरेको अध्यक्ष खतिवडाले बताए ।
सौराहाका पुराना पर्यटन व्यवसायी तथा संरक्षणकर्मी रामकुमार अर्याल हात्ती सम्बन्धी पर्यटकीय गतिविधिमा विविधता हुनुपर्ने बताउँछन् । इलिफेन्ट वाक त्यस्तो उपाए हुन सक्ने उनले बताए । झण्डै ४० वर्षअघि हात्ती पाल्न सुरु गरेका अर्यालसित पहिला चार हात्ती थिए । अहिले दुई वटा छन् । ‘केही विदेशी खास गरेर युरोपी हात्ती चढ्नु हुँदैन भन्छन् । त्यसैले हात्ती उपयोगको अन्य विधि पनि खोज्नु पर्छ,’ अर्यालले भने । सफारीका लागि सुरु भएको हात्तीपालन सफारीमा नै नगर्ने भनेपछि असर देखा पर्न थाल्यो । यसका साथै नयाँ नयाँ अन्य समस्या पनि जन्मने गर्छन् । ‘खास गरेर जंगली भाले हात्ती घरेलु पोथी हात्ती खोज्दै गाउँ आउने र त्यसका कारण दुर्घटना हुने भएपछि स्थानीयको गुनासो बढेर गएको छ । हात्ती पाल्न अरुचि जगाउने विषय एकपछि अर्को गरेर आइरहेका छन् । जुन समाधान गर्नु पर्ने हुन्छ,’ सहकारीका अध्यक्ष खतिवडाले भने ।
गाउँमा जंगली भाले हात्तीको ओहोरदोहोर बढ्न थालेपछि सबै घरेलु हात्तीलाई एकीकृत रुपमा वन क्षेत्रमा राख्नुपर्ने उपाए आउने गरेको छ । तर यसका लागि निकुञ्ज प्रशासनले तत्परता देखाउनु पर्ने खतिवडाले बताए । ‘जंगली भाले हात्तीका कारण आएको समस्यालाई व्यवस्थापन गर्न निकुञ्ज विभागले नै अध्ययन गरेको छ । केही उपयुक्त विधि निस्कने छ,’ चितवन निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले भने । यो विषय चाँडो सम्बोधन हुनुपर्ने हात्ती सञ्चालकहरुको माग छ । हात्तीले खाने हरियो घाँसकै समस्या हुने गरेकोमा व्यवस्थापनका अन्य जटिल खालका समस्या लामो समय रहे असहज हुने सहकारीका अध्यक्ष खतिवडा बताउँछन् । समस्याहरु कायम रहँदा हात्ती किन पाल्ने भन्ने भावना जाग्दै जाने उनले बताए । यहाँ हात्ती नै नपालिए सौराहाको पर्यटन के होला ? उनले प्रश्न गरे ।
