चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको हो।
What you should know
हेटौँडा — बागमती प्रदेशको राजधानी हेटौँडामा एमबीबीएस पढाइ हुने भएको छ। चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको हो।
यो स्वीकृतिसँगै प्रतिष्ठानलाई एमबीबीएस पढाउनका लागि बाटो खुलेको छ। प्रतिष्ठानमा यसअघि स्नातक तहका कार्यक्रम सञ्चालनमा छन्।
बीएससी नर्सिङ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यस वर्ष २० सिटबाट बढाएर ३० सिट पुर्याइएको छ। मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ (बीपीएच) कार्यक्रम भने २०/२० सिट कायम रहेका छन्। यसै गरी ब्याचलर अफ फार्मेसी कार्यक्रम ३० सिटमा पढाइ भइरहेका छन्।
स्नातक तहका यी कार्यक्रमहरुसँगै प्रतिष्ठानले स्नात्तकोत्तर तहमा पनि नयाँ उपलब्धि हासिल गरेको छ। यसै शैक्षिक वर्षदेखि एमडीको सात वटा विषयमा अध्ययन सुरु हुने भएको छ। जसमा कुल ८ सिट स्वीकृति प्रदान गरिएको छ। स्त्री तथा प्रसूति विभागमा २ सिट, फिजिसियन, जनरल सर्जरी, बाल रोग, हाडजोर्नी तथा नशा रोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट रहेको छ।
प्रतिष्ठानले उत्पादन गरेको जनशक्तिले स्वास्थ्य सेवा प्रदान गर्न अब धेरै समय नलाग्ने प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीले बताए । स्वीकृत सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिएको यस कदमले प्रतिष्ठान प्रदेशकै स्वास्थ्य शिक्षा र अनुसन्धानको स्थानको रूपमा स्थापित हुने बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले दाबी गरे ।
प्रतिष्ठानले स्वास्थ्य शिक्षा विस्तारसँगै विशेषज्ञ चिकित्सक उत्पादन, गुणस्तरीय उपचार सेवा र आधुनिक अनुसन्धान प्रवर्द्धन गर्दै आएको प्रतिष्ठानका उपकुलपति ज्ञवालीको दाबी छ। प्रतिष्ठान अन्तर्गत संचालित हेटौँडा अस्पतालमा छिमेकी प्रदेशको समेत उपचारका लागि आउने गरेको छ ।
अहिले उपचारका लागि दैनिक १ हजार ५ सय भन्दा बढीले सेवा लिइरहेका छन् । २०७६ मा प्रदेशसभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन जारी गरिएको थियो । स्थापनाको १ वर्ष पछि प्रतिष्ठानमा २०७७ साउन १५ मा प्रतिष्ठानको उपकुलपति र भदौ १५ गते अन्य पदाधिकारी नियुक्त गरी कार्य प्रारम्भ गरिएको थियो ।
