बागमतीमा मन्त्रिपरिषद्‌ले पूर्णता पाउँदै, आजै शपथको तयारी

मुख्यमन्त्री बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई दिउँसो ३ बजेका लागि शपथका तयारी गर्न औपचारिक रुपमै आग्रह गरिसकेका छन् ।

श्रावण ३०, २०८२

सुवास विडारी

Cabinet getting complete in Bagmati, preparations for swearing in today

What you should know

मकवानपुर — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । उनले रिक्त रहेका ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेका हुन् ।

स्रोतका अनुसार मुख्यमन्त्री बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई दिउँसो ३ बजेका लागि शपथका तयारी गर्न औपचारिक रुपमै आग्रह गरिसकेका छन् । साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले २७ गते सदनबाट विश्वासको मत लिएका थिए । विश्वासको मत प्राप्त गर्नसाथ केन्द्रीय नेतृत्वसँग सहकार्य र समन्वय गरी उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । 

स्रोतका अनुसार बानियाँले आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभातकुमार तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनचन्द्र बादे, सामाजिक विकासमन्त्रीमा बिनु रायमाझी, सहकारी तथा गरिबी निवारण मन्त्रीमा सुरेश श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसीलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

‘विस्तारित मन्त्रिपरिषद्को अन्तिम सूची सार्वजनिक भएको छैन । तर, आजै विस्तार र सपथ गर्ने तयारी छ,' स्रोतले भन्यो । युवा तथा खेलकुद मन्त्रालय र सामाजिक मन्त्रालयको विषयमा भने अझै कुरा मिलेको छैन । उनका अनुसार विश्वासको मतको समयमा आफूलाई सहयोग गर्ने केन्द्रीय नेतृत्वको आग्रह अनुसारका सांसदलाई मन्त्रिपरिषद्मा मुख्यमन्त्री बानियाँले समेटेका छन् । विनाविभागीय मन्त्रीको रुपमा रहेको शिवराज अधिकारीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी मुख्यमन्त्रीले गरेका छन् ।

स्रोतका अनुसार पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षधरका कुनै पनि सांसदले यसपटक मन्त्रिपरिषद्मा स्थान पाएका छैनन् । ‘मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने समयमा छ । उहाँ १४ जना सांसदलाई एक कलसमेत फोन गर्नुभएन । अब मन्त्रिपरिषद्मा कहाँ स्थान दिनुहुन्छ ?’ मुख्यमन्त्री बानियाँ निकट एक सांसदले भने ।

लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएर बानियाँ कांग्रेसको नेतामा निर्वाचित भएसँगै मुख्यमन्त्री बनेका हुन् । उनले एमाले कोटाका ६ जना मन्त्रीलाई यसअघि नै नियुक्त गरी सपथ गराइसकेका छन् । बागमतीमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय रहेका छन् ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully