नाबालिका बलात्कार आरोपमा फरार अन्सारी १५ महिनापछि पक्राउ

हेटौंडामा ९ वर्षीया बालिकामाथि बलात्कार गरेपछि फरार रहेका आरोपीलाई वीरगन्जमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

श्रावण २८, २०८२

प्रताप विष्ट

Ansari, who absconded on charges of raping a minor, was arrested after 15 months

हेटौंडा — नाबालिकालाई बलात्कार गरेर १५ महिनादेखि फरार भएका एक अभियुक्तलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ की ९ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका वीरगंज महानगरपालिका–१३ राधेमाई टोलका ३६ वर्षीय  आस मोहम्मद अन्सारीलाई सोमबार वीरगन्जबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा हेटौंडाका प्रहरीले अन्सारीलाई घर नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान गर्न हेटौंडा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।

अभियुक्त अन्सारीले नाबालिकालाई २०८१ वैशाख ८ गते पीडितको घर छेउमै बलात्कार गरेर फरार भएका थिए । पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत आवमा २८ बालिकासहित ४१ वटा बलात्कारका घटना भएका थिए । घटनामा आरोपी ८ जना फरार भएका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully