मंगलबार चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सहयोगी हातहरुका प्रतिनिधिलाई सम्मानपत्र हस्तान्तरण गर्दै खादा मालाले सम्मान गरेका थिए ।
What you should know
सिन्धुपाल्चोक — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोक जिल्ला शाखाले आफ्नो २६औं स्थापना दिवसको अवसरमा समाजसेवामा सक्रिय ‘सहयोगी हातहरू’लाई सम्मान गरेको छ ।
जिल्लाको सदरमुकाम चौतारा टुँडिखेल (फल्चा)मा रक्तदान तथा रक्त समूह परीक्षण कार्यक्रमबिच उक्त संस्थालाई सम्मान गरिएको हो ।
मंगलबार चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सहयोगी हातहरुका प्रतिनिधिलाई सम्मानपत्र हस्तान्तरण गर्दै खादा मालाले सम्मान गरेका थिए । विपन्नका लागि बाह्रबिसे नगरको बाह्रबिसेमा नि:शुल्क कपडा बैंक स्थापना गरेको सहयोगी हातले यसअघि जिल्लाभरका आठ विद्यालयका आर्थिक अभाव झेलिरहेका बालबालिकालाई लत्ताकपडा र स्टेसनरी सहयोग गरेको थियो । चार वर्षअघिदेखि विभिन्न गाउँबस्तीमा विपद्, आगलागीसहित अभावमा रहेका पीडित परिवारलाई सहयोगी हातले विभिन्न सहयोग गर्दै आएको छ ।
सम्मान ग्रहण गर्दै ‘सहयोगी हातहरू’का प्रतिनिधि विकेश लामा, लक्ष्मी पौड्यालले यो सम्मानले समुदायका लागि अझ सक्रिय भएर काम गर्न प्रेरणा मिलेको बताएका छन् । सहयोगी हातहरुमा जिल्लाको बाह्रबिसे नगरपालिका, बलेफी र त्रिपुरासुन्दरी गाउँपालिकाभरका गरी बैंक, वित्तीय संस्था, बीमा, सहकारी, मेडिकल र विद्यार्थी गरी २८ युवा तथा व्यवसायी आबद्ध छन् ।
रक्तदान कार्यक्रममा ६६ जनाको सहभागिता रहेकोमा चौतारा कारागारका ९ जना कैदीबन्दीहरूले समेत रक्तदान गरेका थिए । सहभागीहरूलाई रक्तदानसँगै रक्त समूह परीक्षणसमेत गर्ने समेत कार्यक्रम तय गराएका थिए । रक्तदान कार्यक्रम ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) जिल्ला शाखा, चौतारा साँगाचोकगढी नगरपालिका र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको सहआयोजनामा सम्पन्न भएको हो ।
