बागमती प्रदेशसभा बैठक सुरु

बहादुरसिंह लामा तामाङ नेतृत्वको सरकार विस्थापित गरेर २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले विश्वासको मत लिन लागेका हुन् ।

श्रावण २७, २०८२

सुवास विडारी

Bagmati Provincial Assembly meeting begins

हेटौंडा — बागमती प्रदेशसभा बैठक सुरु भएको छ । हेटौंडास्थित प्रदेशसभा भवनमा निर्धारित समयभन्दा डेढ घण्टापछि बैठक सुरु भएको हो ।

मंगलबारको बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची छ । बहादुरसिंह लामा तामाङ नेतृत्वको सरकार विस्थापित गरेर २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले विश्वासको मत लिन लागेका हुन् । 

मुख्यमन्त्री लामाले आफूसँग भएको सहमति पालना नगरेमा विश्वासको मत नदिने बताउँदै आएका छन् । तर, कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।       

१ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ । कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । 

केन्द्रमा कांग्रेस र एमाले समीकरण बनेलगत्तै बागमतीमा पहिलो दुई वर्ष कांग्रेसले नेतृत्व लिने समझदारीअनुसार लामा एक वर्षअघि मुख्यमन्त्री नियुक्त भएका थिए । तर, पार्टीभित्रको आन्तरिक शक्तिसंघर्षमा लामालाई हटाइएपछि बाँकी अवधिका लागि बानियाँ मुख्यमन्त्री नियुक्ति भएका हुन् ।

बानियाँ नेतृत्वको समूहले लामालाई संसदीय दलको नेताबाट हटाएपछि उनले १८ साउनमा राजीनामा दिएका थिए । कांग्रेस संसदीय दलको नेताबाट हटे पनि सुरुमा उनले मुख्यमन्त्री छाड्न आनाकानी गरेका थिए । संसदीय दलमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्रीको हैसियतले लामाले प्रदेशसभा सदस्यहरू गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन र माया श्रेष्ठ तथा गीता गुरुङलाई पछि मन्त्रालय तोक्ने गरी मन्त्री नियुक्ति गरेका थिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully