मुख्य सुरुङ र संरचनाबाहिरका सबैजसो भूभागबाट पानी चुहावट भएर जथाभावी खोलो बग्दा बस्ती नै भास्सिँदै जान थालेको प्रभावित बासिन्दा बताउँछन् ।
What you should know
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका क्षेत्रमा निमार्णाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट पानी चुहिएर बस्ती जोखिममा परेको भन्दै स्थानीयले खबरदारी गरेका छन् ।
बाह्रबिसे-६ का अध्यक्ष कुलबहादुर श्रेष्ठका अनुसार सोमबार प्रभावित स्थानीय, क्लब, वन समितिलगायतले आयोजनाका अधिकारीसँग जोखिमबारे ध्यानार्कषण गराएका छन् । स्थानीयको माग सम्बोधन नगरी आयोजनाले जर्बजस्ती विद्युत् उत्पादन गर्न खोजेमा आयोजनामा तालाबन्दी गर्ने स्थानीयले चेतावनी दिएका छन् ।
बाह्रबिसे–५ मा पावरहाउस र भोटेकोशी गाउँपालिका–५ चाकुमा बाँधस्थल निर्माण भइरहेको छ । हाल विद्युत् उत्पादन गर्ने तयारीमा जुटेको बहुप्रतीक्षित आयोजनाको बोर्डरल्यान्डस्थित मुख्य सुरुङ र संरचनाबाहिरका सबैजसो भूभागबाट पानी चुहावट भएर जथाभावी खोलो बग्दा बस्ती नै क्रमशः भास्सिँदै जान थालेको प्रभावित बासिन्दा बताउँछन् । ‘बस्ती भोटेकोशीमा मिसिने त्रासमा स्थानीयले खबरदारी गरेको हो ,’ वडाध्यक्ष श्रेष्ठले भने ।
विज्ञ र विशेषज्ञद्धारा निरीक्षण गरेर सुरुङ मर्मतसम्भार गरिनुपर्ने, मानव, जग्गा, जमिन र घरसम्पत्तिको (क) वर्गको बिमा हुनुपर्ने, वडालाई सामुदायिक उत्तरदायित्वका बजेट उपलब्ध गराउनुपर्नेजस्ता माग स्थानीयले राखेका छन् । प्रभावितबीच बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, सशस्त्र प्रहरी बल लामोसाँघुका प्रहरी नायब उपरीक्षक जगतबहादुर दुवालसहित अन्य सुरक्षाकर्मी र जनप्रतिनिधि उपस्थित थिए । स्थानीय र आयोजनाका पक्षबीच यस विवादबारे सहमति जुट्न नसकेपछि बैठक र छलफल केही समय स्थगित भएको थियो ।
भदौ १० गतेअघिसम्म आयोजनाका उच्च तहका अधिकारी, स्थानीय प्रशासन प्रमुख, सुरक्षा प्रमुख, संघीय तथा प्रदेश सांसद, जनप्रतिनिधिको उपस्थितिमा छलफल र निर्णय हुनेछ । सुरुङको बोर्डरल्यान्डबाट पहिलोपटक २०८० साल पुसमा पानी चुहिएको थियो । पानी चुहिएपछि आयोजनाले नौ महिना समय लागएर सुरुङ मर्मतसम्भार गर्यो । त्यसयता दोस्रोपटक २०८१ मा पनि सोही स्थानबाटै पानी चुहियो, रेट्रोफिटिङ प्रविधि अपनाएर सुरुङ मर्मतसम्भार गरियो ।
गत असारमा पनि आयोजनाले सुरुङमा पानी हालेर हेर्दा तेस्रोपटक बोर्डरल्यान्डबाटै पानी चुहिएको छ । सुरुङमा पानी चुहिँदासमेत विद्युत् उत्पादनतर्फ आयोजना लाग्दा स्थानीयहरु घर छाडेर विस्थापित हुन थालेका छन् ।
आयोजनाका निमित्त प्रमुख सुदीप जोशीले भने सुरुङको संरचना स्थिर र सुरक्षित रहेको जानकारी दिए । साथै सुरुङ आसपास र माथिल्लो भेगमा रहेको बस्तीलाई कुनै जोखिम नरहेको तथ्य उक्त कार्यक्रममा प्रस्तुत गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको न्यु खिम्ती ४०० केभी सबस्टेसन हुँदै ढल्केश्वर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने तयारीका साथ मध्य भोटेकोशीले विद्युत् उत्पादन हुन लागेको छ । आयोजनाका लागि चाकुबाट जम्बुसम्म ७ दशमलव २ किलोमिटर सुरुङ खनिएको छ । सुरुङबाट पानी चुहिएर विस्फोट भएमा गाती, जम्बु, खोर्सानीबारी, खाग्दल, बाह्रबिसे, लामोसाँघु, खाडीचौर लगायतका दर्जनभन्दा बढी हजारौं घरपरिवार उच्च जोखिममा पर्नेछन् ।
