महाभारतका गर्भवती–सुत्केरीलाई हेलिकोप्टरकै भर, साउनमै ४ जनाको उद्धार

खराब मौसम र सडक अवरोधका कारण हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार गर्नुपरेको हो ।

श्रावण २६, २०८२

ज्योती श्रेष्ठ

Mahabharata's pregnant women were rescued by helicopter, 4 people were rescued in July

What you should know

काभ्रे — सुत्केरी व्यथाले च्यापेपछि महाभारत गाउँपालिका–६ लामाटोलका योगेश थिङले गर्भवती श्रीमती सुनिता थिङलाई साउन २३ गते बिहानै वडा ६ स्थित बनखुचौर स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा पुर्‍याए । स्वास्थ्यकर्मीले सुनिताको स्वास्थ्य सामान्य भनेकाले योगेश ढुक्क थिए । सुत्केरी गराउन साँझ ७ बजे सुनितालाई बर्थिङ सेन्टरमा भर्ना गराइयो । सुरुवातमा उनको स्वास्थ्य अवस्था ठिकै थियो । भोलिपल्ट बिहानदेखि भने स्वास्थ्यकर्मीले सोचे अनुरुप स्वास्थ्य अवस्था भएन ।

‘यहाँबाट सक्ने प्रयास गरिरहेका थियौं,’ बनखु स्वास्थ्य चौकीकी अनमि सपना वाइबाले भनिन्, ‘उनको प्रसूति व्यथा सन्तोषजनक नभएपछि रिफर गर्ने तयारीमा जुट्यौं, काठमाडौँ उपचारका लागि हेलिकोप्टर (हेली एम्बुलेन्स) को व्यवस्थापन गर्न बिहान ९ बजेदेखि नै पालिका र जिल्लामा पत्राचार गरेका थियौं ।’

उनका अनुसार बिरामीको अवस्था नाजुक बन्दै गइरहेको थियो । बिहान ११ बजेदेखि उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण साँझ ४:३० बजे मात्रै नेपाली सेनाको हेलिकोप्टर आइपुगेको उनले जानकारी दिइन् । सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँको थापाथलीस्थित परोकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याएपछि साउन २४ गते राति ९:३० शल्यक्रियाबाट छोरीको जन्म भएको छ । उनले भने, ‘अवस्था निकै नाजुक भइसकेको थियो, हेलिकोप्टरबाट उद्धार गरिएकाले चाँडै उपचार गराउन सकियो, आमा र बच्चाको जीवन सुरक्षित भयो, बच्चालाई इन्फेक्सन भएकाले एक साता यहीँ उपचार गराउनुपर्छ भनिएको छ ।’

साउन २३ गते महाभारत गाउँपालिका १ की २० वर्षीया सुजिता थिङ सुत्केरी गराउन वडा १ स्थित गोकुले स्वास्थ्य चौकीमा पुगिन् । राति १:३० बजे उनको सफल डेलिभरी पनि भयो । सुत्केरी भएको १२ घन्टापछि भने सुजिताको स्वास्थ्यमा समस्या देखिन थाल्यो । गोकुले स्वास्थ्य चौकीकी अनमी पूर्णिमा तुम्सिङका अनुसार उनको पिसाब रोकियो, खुट्टा सुन्निन थाले ।

‘यहाँबाट सक्ने सबै प्रयास गर्‍यौं, अवस्था जटिल बन्दै गएपछि हेलिकोप्टरबाट काठमाडौं पठाउन लागि पालिका र जिल्लामा पत्राचार गर्‍यौं,’ उनले भनिन्, ‘साउन २५ को बिहान १० बजेदेखि नै पालिका र प्रशासनमा खबर गरेका थियौं, मौसम र भौगोलिक अवस्थाका कारण हेलिकोप्टरबाट उद्धार गर्न साँझ ६ बजे मात्र काठमाडौं पठाउन सक्यौं ।’ उनका अनुसार थिङको अहिले काठमाडौंस्थित परोकार प्रसूति गृहमा उपचार भइरहेको छ ।

काभ्रेको महाभारत गाउँपालिकाबाट साउन २४ र २५ गते गर्भवती र सुत्केरीको स्वास्थ्यमा समस्या देखिएपछि सेनाले हवाई उद्धार गरेको थियो । महाभारत गाउँपालिकामा करिब साउनका ४ सातामा ४ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ । साउन ८ गते वडा ६ स्थित बनखुचौर स्वास्थ्य चौकीमा सुत्केरी गराउन आएकी वडा ७ की देव कुमारी पाख्रिनको प्रसूति व्यथा सन्तोषजनक नभएपछि भोलिपल्ट सेनाको हवाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो । त्यस्तै, महाभारत–१ की २० वर्षीया रेनुका लुङ्गेलीको गोकुले स्वास्थ्य चौकीमा १८ घन्टासम्म सुत्केरी गराउन नसकेपछि साउन १३ मा हेलिकोप्टरबाटै काठमाडौं पठाइएको थियो ।

महाभारत गाउँपालिकामा गतिलो सडक सञ्जाल, पुल, सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा त्यहाँका १६ हजार ६९ बासिन्दा प्रभावित भएका छन् । यहाँ वर्षातको समयभरि यातायातका साधन चल्दैनन् । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार महाभारत जोड्ने पिन्थली–रजबास–चारकिल्ला–देवीटार सडक खण्ड बर्खामा पहिरोले कारण अवरुद्ध हुने गर्छ । ‘वर्षासँगै आउने पहिरो र पालिका जोड्ने सडक खण्डमा पुल पनि बनिसकेको छैन,’ उनले भने, ‘त्यसकारण पनि वर्षातको समयमा यातायात सञ्चालन हुन सक्दैन ।’ हिउँदको समयमा भने यातायात सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।

आकस्मिक बिरामी र स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको अवस्थामा हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनका अनुसार साउनका तीन सातामा ४ जना गर्भवती तथा सुत्केरीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । ‘पहिरोले सडक अवरुद्ध, पुल नभएकाले गाडी चल्ने अवस्था छैन, जिल्ला सदरमुकाम पुग्नै ८/१० घन्टा लाग्छ,’ उनले भने, ‘बिरामीको अवस्था जटिल भइसकेको अवस्थामा हेलिकोप्टरबाट उद्धार गर्नुबाहेक विकल्प थिएन ।’ उनका अनुसार पालिकाबाटै सुविधा सम्पन्न स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न पूर्वाधार तथा जनशक्ति अभावको समस्या देखिएको छ । यद्यपि पालिकाले गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रयास गरिरहेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/७८ मा २, २०७८/७९ मा ५, २०७९/८० मा ४, २०८०/८१ मा ५ र २०८२/८३ को एक महिना नपुग्दै ४ जना गरी हालसम्म २० जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । यहाँ गत आर्थिक वर्षमा भने कसैको पनि हवाई उद्धार गर्नुपरेको थिएन । सरकारले ज्यान जोखिममा रहेका दुर्गम जिल्लाका गर्भवती तथा सुत्केरीलाई सुविधायुक्त अस्पताल पुर्‍याउन राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धारको सुविधा प्रदान गर्दै आएको छ ।

२०७५ मा जारी भएको कार्यविधिमा लगातार लामो प्रसव बेथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भावस्थामा हातखुट्टा शरीर सुन्निएको, अधिक रक्तस्राव भएको, रक्तअल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रुपमा व्याख्या गरिएको छ । सुत्केरीको उद्धार जहाज तथा हेलिकोप्टरमार्फत गरिने उल्लेख छ । उक्त कार्यविधि अनुसार काभ्रेको महाभारत गाउँपालिका र चौँरीदेउराली गाउँपालिकाका बासिन्दाले सुविधा पाएका छन् ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully