आन्तरिक कलहकैबीच विश्वासको मत लिँदै बानियाँ

मुख्यमन्त्री बानियाँले संविधानको धारा १६८ अनुसार विश्वासको मत लिन लागेका छन्, तर कांग्रेसभित्र आन्तरिक असन्तुष्टि देखिएको छ।

श्रावण २६, २०८२

सुवास विडारी

Baniyan taking a vote of confidence amid internal strife

What you should know

मकवानपुर — पार्टीभित्रको आन्तरिक कलह चरम उत्कर्षमा पुगेकै अवस्थामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार सदनमा विश्वासको मतको सामना गर्दैछन् ।

दिउँसो ४ बजे बस्ने बैठकमा प्रदेशको छैटौं मुख्यमन्त्रीको रुपमा बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार सदनबाट विश्वासको मत लिन लागेका हुन् ।

कुल ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ मत आवश्यकता पर्छ । नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २४ सांसद रहेका कारण बानियाँलाई विश्वासको मत सहजै प्राप्त हुने अवस्था देखिन्छ । 

तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहादुरसिंह लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिन लगाउँदा भएको सहमति मुख्यमन्त्री बानियाँले कार्यान्वयन नगरेको भन्दै कांग्रेसभित्रकै लामा पक्षधरका सांसद विश्वासको मतको पक्षमा उभिन नहुने बताइरहेका छन् । जसका कारण बानियाँ दबाबमा रहेका छन् ।

लामाले दलको नेतामा पराजित हुनु अगाडि नियुक्ति गरेका तीनजना मन्त्रीलाई शपथ गराउने विषयमा कांग्रेस सभापति देउवा, मुख्यमन्त्री बानियाँ र पूर्वमुख्यमन्त्री लामाबीच सहमति भएको दाबी गरिएको छ । उक्त सहमति अनुसार बानियाँले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दा उनीहरुलाई नसमेटेपछि लामा पक्षधर मुख्यमन्त्रीसँग चिढिएका छन् । फलस्वरुप उनीहरु सामूहिक राजीनामा दिने र विश्वासको मतको पक्षमा मतदान नगर्ने बताइरहेका छन् । 

संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि पूर्वमुख्यमन्त्री लामाले प्रदेशसभा सदस्यहरू गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन, माया श्रेष्ठ र गीता गुरुङलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । प्रदेश प्रमुख कार्यालयले मन्त्रीहरूको शपथका लागि सूचना निकालिसकेपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा उपचारका लागि भन्दै काठमाडौं गएपछि शपथ रोकिएको थियो ।

‘बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनुअगाडि मन्त्री सिफारिस भएर शपथ लिन नपाएका तीन जनालाई नयाँ मन्त्रिपरिषद्मा समेटिने सहमति भएको थियो । उक्त सहमति पार्टी सभापतिसँगै बसेर भएको हो । अहिले सहमति लत्याएर ह्विपको धम्की दिन सुरु भएको छ,’ लामा पक्षका एक सांसदले भने, ‘बहादुरजीले राजीनामा दिनुपर्ने कुनै संवैधानिक बाध्यता थिएन । तर, पार्टीको नेतृत्वको आश्वासनपश्चात् दिनु भएको हो ।’

उनले विश्वासको मतभन्दा पहिले नै समझदारी पालना नभएको खण्डमा विश्वासको मतको विषयमा सोच्न आफूहरु बाध्य हुने दाबी गरे । लामासहित उनी पक्षधर नौ जना सांसदले आइतबार सभापति देउवालाई भेटेर प्रदेशको हालको राजनीतिक अवस्थाबारे जानकारी गराएका छन् । सोही क्रममा लामा पक्षधरका १४ जना सांसदले सामूहिक राजीनामा दिनेदेखि विश्वासको मतको विपक्षसम्म विषय जानकारी गराएका बुझिएको छ ।

सोही क्रममा देउवाले विश्वासको मत दिने वातावरण बनाउन आग्रह गरेका छन् । ‘हामीलाई सहमति पालना हुन्छ भनेर आश्वासन दिइएको छ ।’ उनले भने ।

कांग्रेस सांसद छिरिङ दोर्जे लामाका अनुसार पार्टीले ह्विप जारी गरिसकेको अवस्थामा सबैले विश्वासको मतको पक्षमा उभिने निश्चित नै छ । ‘ ह्वीप जारी गरेपछि सम्पूर्ण उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्नुहुन्छ । किनकि असन्तुष्टिको विषयमा पार्टी सभापतिसँग छलफल र समन्वय गरी अगाडि बढ्ने तयारी भएको छ ।’

लामाले पार्टीको हाइकमाण्डको निर्देशन अनुसार मुख्यमन्त्री बानियाँ अगाडि बढ्ने दाबी गरे । लामा पक्षका सांसद तथा बागमती प्रदेशका निवर्तमान आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले अहिले नै कुनै निर्णय नगरिसकेको बताए ।

‘पार्टी सभापतिसँगको लगातार सम्पर्क भइरहेको छ । हामीलाई समस्या समाधान हुन्छ भन्ने विश्वास छ’, उनले भने । प्रदेशका सरकार प्रवक्ता समेत रहेका खानेपानी तथा सिँचाइमन्त्री कृष्ण कुमार तामाङले राजीनामा दिने कुरा तथ्यहीन भएको बताए ।

०७९ मंसिरको निर्वाचनपश्चात् प्रदेशमा ३७ सिटसहित कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको थियो । निर्वाचनपछि ०७९ पुस १३ मा भएको संसदीय दलको निर्वाचनमा प्रदेशका सभापतिसमेत रहेका सांसद बानियाँ लामासँग पराजित भएका थिए । लामा कांग्रेस–एमाले गठबन्धनपछि ०८१ साउन ८ मा मुख्यमन्त्री बनेका थिए । 

अविश्वास प्रस्तावमार्फत् बानियाँ संसदीय दलको नेता बनेपछि राजीनामाका लागि पार्टीबाट लामामाथि दबाब बढेको थियो । सभापति शेरबहादुर देउवासँग साउन १७ गते बानियाँसहित बसेर समझदारी बनेको भन्दै लामाले १८ साउनमा राजीनामा दिएका थिए । १९ गते मुख्यमन्त्री बनेका बानियाँले समझदारी पालना नगरी विश्वासको मत लिन खोजेपछि लामा पक्ष बिच्किएको हो ।

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन सत्तारूढ दल कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् । कांग्रेस र एमालेले आफ्ना सदस्यहरूलाई अनिवार्य उपस्थित भई विश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully