खर्कमै चौंरीको शल्यक्रिया

कालिञ्चोकको खर्कमा चौंरीको पेटको शल्यक्रिया गरी पाँच किलोको ट्युमर निकालिएको छ ।

श्रावण २४, २०८२

केदार शिवाकोटी

Surgery of Kharkmai Chaunri

What you should know

दोलखा — कालिञ्चोक गाउँपालिका–१ का लालवीर थामीले डेढ वर्षअघि चौंरीगोठ जोडे । त्यसबेला उनले ३० वटा चौंरीसहितको गोठ खरिद गरेका थिए । खर्कमा रमाइरहेका उनीसँग गुन्टु नाम गरेको चौंरी पनि थियो । 

गुन्टुको पेटमा सामान्य गाँठो थियो । बिस्तारै बढ्न थाल्यो । बेलाबेला गुन्टु ह...ह...गर्दै आवाज निकाल्थ्यो । अरु सबै चौंरीले गुन्टुलाई घेर्थे । 

चौंरी-चौंरी जुध्दा गुन्टुको पेटको गाँठोबाट कहिलेकाहीँ पिप र रगत देखिन्थ्यो । ‘मान्छे भएको भए पीडा बुझ्न सजिलो हुन्थ्यो होला, तर पशु पर्‍यो बोल्न सकेन,' लालवीर भन्छन्, 'पेटको गाँठो दुखेर होला बेला अर्कै आवाजमा कराउँथ्यो ।'

उनका अनुसार चौंरी सामूहिक रुपमा चरनमा  जाने गर्छन् । ‘कुनै एउटालाई समस्या पर्‍यो भने समूह नै आएर घेर्ने गर्छन्,' लालवीरले सुनाए । 

एकपटक चौंरीगोठ अनुगमनका लागि कालिञ्चोक गाउँपालिका उपाध्यक्ष पुगेका थिए । गुन्टुको पेट अस्वाभाविक देखेपछि उनी अचम्मित बने । ‘उनैले जिल्ला पशु सेवा कार्यालयलाई भनेपछि मात्रै थाहा भयो, गुन्टुलाई पेटमा ट्युमर भएको रहेछ,’ लालवीर भन्छन्, ‘चरिकोट लैजान सम्भव थिएन, गुन्टुलाई बाली लगाएको एक महिना भएको थियो ।’ 

जिल्ला पशु सेवा कार्यालयले गुन्टुको अवस्थाको फोटो पाएपछि अवस्था विश्लेषण गरेको थियो । तर खर्कमा शल्यक्रिया असम्भव थियो । पशु सेवा कार्यालयमा पशु चिकित्सकको दरबन्दी भए पनि त्यसबेला चिकित्सक उपलब्ध थिएनन् । तत्काल भीमेश्वर नगरपालिका पशु शाखाका अधिकृत तथा पशु चिकित्सक निशान दाहाललाई गुन्टुको पेटमा भएको गाँठोको फोटा पठाएको सूचना अधिकारी प्रकाश थापाले बताए । दाहालले उक्त पोको ट्युमर हुन सक्ने र त्यसको शल्यक्रिया गरेर निकाल्न सके ज्यान जोगाउन सकिने राय दिए । दाहाललाई शल्यक्रियाका लागि आग्रह गरेपछि मात्रै उनी खर्कमा जाने निधोमा पुगे । 

‘मानव भएको भए सामान्य बिरामी हुँदा अस्पताल पुर्‍याउने गरिन्छ, सबै पीडा पनि बुझिन्छ,' उनले भने, 'पशुको पीडा बुझ्ने र उपचार गर्ने पेसा रोजेकाले नजाने कुरै थिएन ।’ सम्भव भए उपचार त्यहीँ गरेर फर्कने सोच बनाएर उनी शल्यक्रियाका लागि आवश्यक औजार र औषधि लिएर खर्कतिर लागे । 

Surgery of Kharkmai Chaunri

उनी पुग्दा चौंरीको पेटमा झुन्डिएको ट्युमर ठूलो भइसकेको थियो । सबै परीक्षणका लागि एक्स–रे गरेर हेर्न पनि खर्कमा नमिलेका कारण छामेर उपचारको सम्भावना खोजिएको उनले बताए । ‘बाहिबाट ट्युमरमा पिप आइरहेको र संक्रमण फैलिएको रहेछ, शल्यक्रिया गर्दा रगत बग्ने जोखिम कम गरेर चौंरीलाई लट्यायौं,’ उनले भने, ‘शल्यक्रिया थालेपछि पानी पर्‍यो, साढे दुई घण्टा लगाएर ट्युमर निकाल्न सफल भयौं ।’ 

खर्कमा शल्यक्रिया गरेको पहिलोपटक भएकाले जीवनकै नयाँ अनुभव भएको दाहाल बताउँछन् । ५ किलो बराबरको ट्युमर चौंरीको पेटबाट निकालिएको थियो । चरनका क्रममा जाँदा काँडा वा अन्य वस्तुले घोचेर संक्रमण फैलिसकेको अवस्थामा पुगेको उनले बताए । 

ट्युमरको शल्यक्रियापछि गुन्टु अहिले समूहमै चरनमा जान थालेको लालवीरको भनाइ छ । 'समयमै खर्कमै आएर उपचार गरिदिएर नोक्सानी हुनबाट जोगाइदिनुभयो,' उनले भने, 'गुन्टुलाई बाली लगाएको एक महिना भइसकेको छ । गर्भ बस्नेमा आशावादी छु ।'

केदार

Link copied successfully