खेतमा करेन्ट लागेर गैंडा मरेको घटनामा पक्राउ परेका श्रेष्ठलाई छाड्न माडीका दलहरुको माग, युवाहरु पनि विरोध प्रदर्शनमा

माडी नगरपालिका–२ मा हरिभक्त श्रेष्ठको खेतमा गैंडा मृत भेटिएपछि चितवन निकुञ्जले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको छ।

श्रावण २४, २०८२

रमेशकुमार पौडेल

Madi parties demand to release Shrestha, who was arrested in the case of electrocution in the farm, youths are also protesting.

What you should know

चितवन — करेन्ट लागेर धान खेतमा गैंडा मृत फेला परेपछि पक्राउ परेका खेतधनीलाई रिहा गर्न चितवन माडीका राजनीतिक पार्टीहरुले माग गरेका छन् । 

माडी नगरपालिका–२ भैरवपुरमा बुधबार बिहान स्थानीय हरिभक्त श्रेष्ठको धान खेतमा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मृत फेला परेको थियो । गैंडा मृत भेटिएको घटनामा अनुसन्धान गर्न चितवन निकुञ्ज प्रशासनले श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । माडीका युवाहरुले पनि श्रेष्ठलाई छाड्न माग गर्दै विरोध प्रदर्शन सुरु गरेका छन् ।

चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले श्रेष्ठलाई अनुसन्धान गर्न पाँच दिनको म्याद पाएको बताए । गैंडा दुर्लभ वन्यजन्तु भएका कारण कानुनले यसलाई मार्न या यसको अंगको ओसार पसार र कारोबार गर्न रोक लगाएको छ । 

धानखेतमा करेन्ट लागेर गैंडा मृत भेटिएपछि कानुन अनुसार नै खेतधनी श्रेष्ठलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सूचना अधिकारी थापा मगरको भनाइ छ । 

श्रेष्ठलाई नियन्त्रणमा लिएपछि राजनीतिक दलका साथै माडीका युवा समूहहरुले पनि उनलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् । माडीका युवाहरुको अगुवाइमा शुक्रबार माडी बसन्तपुर बजार र बरुवा बजारमा विरोध प्रदर्शन भएको छ । 

राजनैतिक दलहरुले निकालेको प्रेस विज्ञप्तिमा हरिभक्त श्रेष्ठले माडीमा नै केही गर्नुपर्दछ भन्ने मान्यताले १० औं बिघा जमिनमा धानखेति गरेको उल्ललेख छ । विज्ञप्तिमा भनिएको छ, ‘उहाँले आफ्नै खेतिवाली संरक्षण गर्न लगाएको तारबारमा अल्भिएर गैंडा मर्नु दु:खद हो । तर कृषिकर्म गरी जीवीकोपार्जन गर्ने किसानलाई हिरासतमा लिएर मुद्दा चलाउने कुराले हामीलाई गम्भीर बनाएको छ ।’

नेपाली कांग्रेस माडी नगर समितिका सभापति कमलनाथ भुषाल, एमालेका अध्यक्ष नारायणप्रसाद अधिकारी र माओवादी केन्द्रका अध्यक्ष भरतप्रसाद तिमिल्सिनाले संयुक्त विज्ञप्ति निकालेका हुन् ।

त्यसैगरी संयुक्त विज्ञप्ति निकाल्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी माडी नगर समिति अध्यक्ष नारायणदत्त रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विरेन्द्रबहादुर भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुरन महतो रहेका छन् ।

‘हामी सबै राजनैतिक पार्टीहरु कृषक हरिभक्त श्रेष्ठलाई बिनासर्त रिहाईका लागि जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ । यो घटना र चितवन निकुञ्जबाट सिर्जित सबै समस्याहरु छलफलबाट समाधान गर्न निकुञ्ज, वन मन्त्रालय लगायत सबैसँग छलफल गर्न पनि दलहरुले ध्यानाकर्षण गराएका छन् । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully