कुलेखानी सिमखोलामा जोडिएको बेलिब्रिजको परीक्षण

बागमती प्रदेशका मन्त्री र अन्य अधिकारीहरूको निरीक्षणपछि बेलिब्रिजमा सामान बोकेको टिपर चलाएर परीक्षण गरिएको हो ।

श्रावण २३, २०८२

प्रताप विष्ट

Test of belay bridge connected to Kulekhani Simkhola

हेटौंडा — कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनि सिमखोलामा निर्माण गरिएको बेलिब्रिजमा सामान बोकेको टिपर चलाएर परीक्षण गरिएको छ । 

‘कति टनसम्मका सवारीसाधन पुल भएर आउजाउ गर्न सक्छन्, त्यसको भारवहन क्षमता यकिन भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुनेछन्,' यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नभिन सिंहले भने, ‘त्यो काम आजभोलि नै यकिन गरेर औपचारिक रुपमा सानो कार्यक्रम गरेर पुल सञ्चालनमा ल्याउनेछौं ।’

बागमती प्रदेश भौतिक पूर्वाधारमन्त्री डा. दिनेशचन्द्र देवकोटा, सांसद महेश बर्तौला, यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख सिंह, सिनियर डिभिजन प्रमुख चन्द्रदेव भट्ट, गाउँपालिकाका अध्यक्ष डीके पुडासैनी लगायतले पुलको अवलोकन गरेका थिए ।

यहाँ असार २८ देखि बेलिब्रिज जडान सुरु गरिएको थियो । बेलिब्रिज राख्न पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियरियर्स प्रालिले एक करोड ८८ लाख रुपैयामा ठेक्का लिएको छ ।

गत असोज ११ र १२ को भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फलो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । अहिले खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully