बागमतीका मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने

कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा साउन २० गते मंगलबार मुख्यमन्त्री बनेका हुन् ।

श्रावण २३, २०८२

प्रताप विष्ट

Bagmati Chief Minister Baniyan will take the vote of confidence on Tuesday

हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आउँदो मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधानअनुसार साउन २७ गते विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभा सचिव रामकुमार पौडेलद्वारा बिहीबार सार्वजनिक गरिएको सूचनामा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार मुख्यमन्त्री बानियाँले विश्वासको मत प्रस्ताव पेस गर्ने उल्लेख छ । यसका लागि सभामुख भुवनकुमार पाठकले साउन २७ गते अपराह्न ४ बजे प्रदेशसभा बैठक बस्नेगरी मिति निर्धारण गरेका छन् । बैठकमा विश्वासको मत प्रस्तावमाथि छलफल गरी मत विभाजन गरिने छ ।

कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा साउन २० गते मंगलबार मुख्यमन्त्री बनेका हुन् । प्रदेशसभाका ११० जना सांसद छन् । उनी आफ्नै दलका नेता बहादुरसिंह लामा तामाङलाई विस्थापित गर्दै बानियाँ मुख्यमन्त्री बनेका हुन् । 

मुख्यमन्त्री बन्न बानियाँले लामाविरुद्ध कांग्रेसको प्रदेश संसदीय दलमा अविश्वास प्रस्ताव पारित गराई मुख्यमन्त्रीबाट राजीनामा गराउन दबाब बढाएका थिए । दलको नेतामा चुनाव हारेपछि र पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully