काभ्रेमा पाँच वर्षको अवधिमा ८०७ सवारी दुर्घटना, १८२ जनाको मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार, मानवीय, यान्त्रिक र वातावरणीय गरी ३ प्रमुख कारणले सवारी दुर्घटना हुने गर्छ ।

श्रावण २३, २०८२

ज्योती श्रेष्ठ

807 road accidents in Kavre during five years, 182 deaths

What you should know

काभ्रे — काभ्रेपलाञ्चोकमा पाँच वर्षको अवधिमा सवारी दुर्घटनामा परी १८२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि ०८१/८२ सम्ममा ८०७ वटा सवारी दुर्घटना हुँदा १८२ जनाले ज्यान गुमाएको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ । 

प्राप्त तथ्यांकअनुसार आव ०७९/८० मा १५६ वटा सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको थियो भने ०७८/७९ मा १४९ वटा सवारी दुर्घटना भएकोमा ४३ जनाले ज्यान गुएका छन् । त्यस्तै, आव ०८०/८१ मा भएको १८१ वटा सवारी दुर्घटनामा ३३ जना, ०७७/७८मा १७८ वटा सवारी दुर्घटनामा ३१ जना र ०८१/८२ मा भएको १४३ वटा सवारी दुर्घटनामा २५ जनाको मृत्यु भएको तथ्यांकमा छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार, मानवीय, यान्त्रिक  र वातावरणीय गरी ३ प्रमुख कारणले सवारी दुर्घटना हुने गर्छ । ‘सवारी दुर्घटनामा मानवीय त्रुटि भने प्रमुख कारण हुने गरेको पाइन्छ,’ उनले भने, ‘यान्त्रिक त्रुटिको कारण पनि दुर्घटना हुने गर्छ, यसका साथै वातावरणीय पक्षअन्तर्गत सडकको अवस्थाको कारण दुर्घटना हुने गर्छ ।’ 

ट्राफिक नियमबारे यात्रु तथा चालकहरु सचेत हुनुको साथै यान्त्रिक उपकरणहरु नियमित मर्मत तथा सम्भारबारेमा पनि सवारी धनी तथा चालकहरु सचेत भएकाले काभ्रेमा तुलानात्मक रुपमा सवारी दुर्घटनाको संख्यामा कमी भएको प्रहरी निरीक्षक धाँजुले जानकारी दिए । उनका अनुसार, वातावरणीय पक्षअन्तर्गत जिल्लामा रहेको अरनिको राजमार्ग निर्माणाधीन भएकाले यातायातको चाप तुलानात्मक रुपमा कम भएको छ । सवारी दुर्घटनाको संख्यामा कमी हुनुको अर्को कारण सडक पूर्वाधारण रहेको उनको भनाइ थियो । 

सवारी दुर्घटना र यसबाट हुने मानवीय क्षतिलाई न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा यात्रु, चालक तथा विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम, यान्त्रिक परीक्षण लगायतका विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताए । 

पाँच आवमा काभ्रेमा भएका सवारी दुर्घटना र मृत्यु विवरण  

807 road accidents in Kavre during five years, 182 deaths

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully