बागमतीमा आएको बाढीले ठूलो क्षति पुगेपछि माण्डु हाइड्रोपावरले पुनर्निर्माण गरेर विद्युत् उत्पादनको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ।
What you should know
हेटौंडा — गत असोज ११ र १२ गतेको अविरल वर्षाले बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको माण्डु हाइड्रोपावरले पुनः विद्युत् उत्पादन सुरु गरेको छ । पुनर्निर्माणको कार्य सकेर माण्डु हाइड्रोपावरले मंगलवारदेखि पुनः विद्युत् उत्पादन सुरु गरेको हो । पहिलो चरणमा क्षमताको ५० प्रतिशत मात्र विद्युत् उत्पादन गरिएको छ । माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन क्षमता २२ मेगावाट हो ।
‘पुनर्निर्माण कार्य सकेर पहिलो चरणमा ११ मेगावाट विद्युत् उत्पादन गरिरहेका छौं,’ माण्डु हाइड्रोपावरका वरिष्ठ प्राविधिक मनोज सिंहले भने, ‘अब छिट्टै नै पूर्ण क्षमताका साथ विद्युत् उत्पादन गर्नेछौं, केही प्राविधिक समस्या भएकाले क्षमताको ५० प्रतिशत मात्र विद्युत् उत्पादन गरेका हौं ।’
बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको हाइड्रोपावरको पुनर्निर्माण कार्य गत मंसिर महिनादेखि सुरु गरिएको थियो । नेपाली प्राविधिक र कामदारहरू सम्मिलित टोलीले हाइड्रोपावरको प्राविधिक एवम् भौतिक कार्यहरू गरेका थिए । पुनर्निर्माण कार्यमा नेपाली प्राविधिक र कामदार गरेर सरदर दैनिक ६० जना भन्दा बढी खटिएका थिए ।
मकवानपुरस्थित भीमफेदी गाउँपालिका–८, बागमती दोभानमा उत्पादन गृह राखेर विद्युत् उत्पादन गर्दै आएको माण्डु हाइड्रोपावरको बागमती खोलाको बाढी र पहिरोले हेडवक्र्स, पावर हाउस, पेनेस्टक पाइप, विद्युत्को टावर क्षतिग्रस्त बनाएको थियो । २०७५ सालदेखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको हाइड्रोपावरलाई बागमतीको बाढीले करिब १ अर्बभन्दा बढी क्षति पुर्याएको प्रमुख सञ्चालक अधिकृत सुन्दर श्रेष्ठले बताए । ‘बागमतीमा आएको बाढीले हाइड्रोपावरलाई कल्पनै नगरेको क्षति पुर्यायो, त्यसको मर्मत सम्भार कार्य गरेर पुनः विद्युत् उत्पादन सुरु गरेका छौं,’ उनले भने ।
सिस्नेरी बजारदेखि आयोजनास्थल पुग्ने सडक नै बाढीले क्षतविक्षत बनाएको थियो । माण्डु हाइड्रोले सडकको मर्मत सम्भार गरेर आयोजनास्थलसम्म पुग्ने बाटो खोलेर गत मंसिरको पहिलो सातादेखि पुनर्निर्माणको कार्य सुरु गरेको थियो ।
बागमती नदीमा आएको बाढीले ६०० मिटर पेनेस्टकमध्ये १०० मिटर पेनेस्टक पाइप क्षतिग्रस्त बनाएको थियो । २ हजार ४२४ मिटर लामो मुख्य सुरुङमा वालुवा र लेदो पसेर क्षति पुर्याएको थियो । काठमाडौंबाट फोहोर बटुल्दै बग्ने बागमती खोलाको पानीबाट मकवानपुरको भीमफेदी गाउँपालिका–८, इपा पञ्चकन्याको वगरबेसीस्थित विद्युत् गृहबाट विद्युत् उत्पादन हुँदै आएको थियो ।
