बागमतीका मुख्यमन्त्री बानियाँको शपथग्रहण अपराह्न ४ बजे

कांग्रेसका बानियाँले मुख्यमन्त्रीका लागि ६४ सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्।

श्रावण २०, २०८२

प्रताप विष्ट

Bagmati Chief Minister Baniyan swearing in at 4 pm

What you should know

हेटौँडा — बागमती प्रदेश सरकारको छैटौँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मंगलबार नियुक्त हुँदै छन्। अपराह्न ४ बजे शपथग्रहणको कार्यक्रम तय गरिएको छ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

बहादुरसिंह लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

बानियाँले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेस गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ।

एमालेका मन्त्री नयाँ

एमालेले मन्त्रीको जिम्मेवारी पाउनेहरूको नाम टुङ्ग्याएको छ। एमालेबाट यसअघिको सरकारमा संलग्न एक मन्त्री पुनः दोहोरिने भएका छन् भने अन्य पाँच जना नयाँ अनुहार हुनेछन्।

दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर हुन्। उनलाई यसपालि पनि स्वास्थ्य मन्त्रालयकै जिम्मेवारी दिइएको छ।

नयाँ अनुहारहरूमध्ये जयराम थापा श्रम, रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावरणमन्त्री, मधुसूदन पौडेल कृषि तथा पशुपन्छी विकासमन्त्री, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री र बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री हुने भएका छन्।

मुख्यमन्त्रीको शपथग्रहणपछि एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले पनि शपथ लिने तयारी गरिएको छ। नेपाली कांग्रेसबाट को–को मन्त्री हुने भन्नेबारे छलफल भइरहेको र नाम टुङ्गिएपछि मंगलबार नै शपथग्रहण गर्ने तयारी भएको कांग्रेसका प्रदेश सभापति बानियाँले जानकारी दिए।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully